

नेपाल टेलिकमको सिम निःशुल्क पाउने

काठमाडौं – नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वव्यापी रूपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको हो।
कम्पनीले १५ असोजदेखि २५ गतेसम्म ६० वर्षमाथिका नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने जनाएको छ। यस सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने जनाइएको छ।
नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरूबाट ज्येष्ठ नागरिकहरूले यो सुविधाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

