ईपीएल क्रिकेटः भैरहवाको पहिलो जित, विराटनगरको दोस्रो हार


काठमाडौं — भैरहवा ग्लाडीयटर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

भैरहवासँग पराजित भएपछि विराटनगरले लगातार दोस्रो हार ब्यहोरेको छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । कप्तान शरद भेषवाकर ६ रन अविजित रहे । प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२/१२ रन बनाए । आरिफ शेख सुन्य रनमा आउट भए ।

विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो ।

भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११/११ रन  बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे ।

कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी सुन्य रनमा पेभेलियन फर्किए । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए ।

अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए । यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ ।

वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक एक अंक बाडेको थियो  ।

प्रतिक्रिया