ईपीएल क्रिकेटः विराटनगरद्वारा भैरहवालाई ९० रनको लक्ष्य प्रस्तुत


काठमाडौं — एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रनमा समेटियो । भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११/११ रन  बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे ।

कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी सुन्य रनमा पेभेलियन फर्किए । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए ।

अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।  शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा पहिलो जितको खोजीमा रहेको छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो  ।

विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया