

३८ क्विन्टल सुन तस्करी प्रकरण : आजबाट अन्तिम बहस हुँदै

विराटनगर – मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आज (आइतबार) बाट अन्तिम बहस हुँदै छ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो ।
असोज ७ गतेदेखि सुनुवाइका क्रममा रहेर हेर्दाहेर्दैमा राखिएको मुद्दामा आजबाट कानुन व्यवसायीका तर्फबाट बहस हुने विराटनगर उच्च अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालाले बताए। मुद्दाको किनारा दसैंअगाडि नै लगाउने तयारी रहेको उनको भनाइ छ। उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा कानुन व्यवसायीबीचको बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो।
तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा सनम शाक्यको मृत्यु भएको थियो । हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्याकेट पत्ता लागेको थियो ।
मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर साढे ३३ किलो सुन काठमाडौं ल्याइपुर्याएपछि गायब बनाइएको थियो। अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भएको थियो। उक्त प्रकरणमा ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन्।
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चार वटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
दुई पटक पूरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।
सुन तस्करी मुद्दाका ७७ प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैँ हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए ।

