

लोटस मल्टि ट्रेनिङले तीन जिल्ला स्पर्धीलाई माइक्रोसफ्ट अफिस स्पेशियलिस्ट च्याम्पियनसीपमा लैजाने

इटहरी– सूचना प्रविधि क्षेत्रको विश्वको सबै भन्दा ठूलो प्रतियोगीता ‘माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीप’ यस वर्ष ७७ वटै जिल्लामा हुने भएको छ।
यो च्याम्पियनसीप एक ग्लोबल स्पर्धा हो जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावर प्वाइन्टमा सीप परीक्षण गर्दछ। साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ। माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तर्राष्ट्रिय प्रमाण पत्र हो । प्रतियोगितामा जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन तहको हुनेछ।
१३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही प्रतियोगितामा सहभागी हुन सक्दछन्। अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिष्पर्धा गराईएको थियो। जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका विजेताहरु ‘नेशनल च्याम्पियनसीप’का लागि पोखरा जानेछन् । पोखरामा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरुबीच प्रतिस्पर्धा हुनेछ ।
पोखराबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ वर्षदेखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा उपाधि हासिल गरेको थियो।
कम्प्युटर शिक्षा तथा उच्च शिक्षा अध्ययनको क्षेत्रमा कार्य गर्दै आएको लोटस मल्टि ट्रेनिङ प्रालिले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीपमा सुनसरी, मोरंग र झापा जिल्लाका सबै विद्यार्थीलाई सहभागी गराउने भएको हो।
जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि प्रालिले तयारी पूरा गरेको सञ्चालक रविन्द्र निरौलाले बताए। प्रदेश– १मा आगामी पुष १ गतेबाट रजिष्ट्रेशन खुल्ला गरिने सम्बन्धित जिल्लाका पार्टनरहरुले जानकारी गराए।
सहभागी हुन चाहनेहरुका लागि आवश्यक तालिमको व्यवस्था पनि सम्बन्धित जिल्ला पार्टनरले नै गर्नेछन्। प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले एक लाख देखि एक लाख ५० हजार बराबरको फाईदा पुग्ने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी गराउन निरौलाले अपिल गरेका छन्।
संस्थाले विभिन्न क्षत्रको जनशक्ति आवश्यकता पूरा गर्ने उद्देश्यले कम्प्युटरका विभिन्न कोर्षहरूका साथै माइक्रोसफ्ट, एडब, एप्पल, सिई आउन्सिल आदीको अन्र्तराष्ट्रिय प्रमाणपत्रका कोषहरूका अतिरिक्त कोरियन, जापनिज, हिब्रु भाषाका कक्षाहरू सञ्चालन गर्दै आईरहेको निरौलाले जानकारी दिए।
प्रदेश नं १ बाट ६, प्रदेश नं २ बाट ८, बाग्मती प्रदेश बाट ८ गण्डकी प्रदेशबाट ९, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ जिल्लाले प्रतियोगितामा सहभागिता हुने निश्चित भएको छ।
प्रतियोगितालाई प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा जिल्ला पार्टनर मिट अनुरुप लुम्बिनी, कर्णाली, सुदूरप्रश्चिम, बाग्मती, प्रदेश १ को इटहरीमा सकिसकेको र प्रदेश नं २ को मंसिर १९ गते जनकपुरमा र गण्डकी प्रदेशको मंसिर २३ गते बाग्लुङमा आयोजना गरिने प्रतियोगिताका राष्ट्रिय पार्टनर दिप आईटी एजुकेशनलका सञ्चालक दीपेन्द्र लामिछानेले जानकारी दिए।

