काठमाडौंबाट घर फर्किएकी युवतीको हत्या गरी खोलामा फ्याँकियो शव, साथी नै पक्राउ


दैलेख – काठमाडौंबाट घर फर्किदै गरेकी एक युवतीको दैलेखमा हत्या गरेर खोलामा फालिएको अवस्थामा शव भेटिएको छ । भदौ १५ गते काठमाडौंबाट तीज मान्न भन्दै घर फर्किएकी नारायण नगरपालिका–१० भवानीकी करिव २० वर्षीय अस्मिताकुमारी बोगटीको दैलेखको गुराँस गाउँपालिका–५ स्थित भैरीखोलामा शव फेला भेटिएको हो ।

हत्या भएको १२ दिनपछि मात्रै उनको शव पहिचान भएको थियो । भदौ २७ गते उनकी आमाले छोरी तीज मान्न आउँदै गर्दा बाटैबाट हराएको बताएकी थिइन् । शव पहिचान नभएपछि प्रहरीले सनाखतका लागि फोटोसहित हुलिया परिपत्र गरेको थियो । त्यसपछि पनि सनाखत हुन नसक्दा प्रहरीले कानुन बमोजिम दाहसंस्कार गरिसकेको थियो ।

आमा शान्ति बोगटीले मृतकको फोटो हेरी आफ्नो छोरी अस्मिता भएको र उनी विगत ४ वर्षदेखि काठमाडौंमा बस्दै आएको बताएकी थिइन् । प्रहरीले हत्याको अभियोगमा गुराँस गाउँपालिका ५ भैरीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरेको छ। उनीहरुबीच पहिले राम्रो सम्बन्ध रहेको खुलेको छ । अहिले खटपट भएका कारण हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकलाई ८ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया