‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं – मंगल धुनले दशैंको आगमन संकेत गर्छ। गीत संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ। त्यसैले मंगल धुनसँगै दशैं विशेष विभिन्न गीतहरु सार्वजनिक हुन्छ।

ती गीतहरुले दशैंको महत्वको वखान गर्छ वा दशैंमा आउने याद, सिर्जना गर्ने अवस्था, माहोलको कुरा भन्छ। दशैंको माहोल नजिकिँदै गर्दा ‘ह्याप्पी दशैं’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

उक्त गीत स्माइल नेपाल अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतको म्युजिक भिडियो बनाइएको छ। भिडियोमा चार जनाको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गीतको भिडियोमा सन्तोष पन्त, सुष्मा ढकाल, फिलिप देवकोटा र अस्मिता डल्लाकोटीको अभिनय रहेको छ। डल्लाकोटी दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पर्न सफल गायिका समेत हुन्।

एकआपसमा माया र सदभाव साटेर दशैं मनाऔं भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ। विदेश पुगेका नेपालीहरु दशैं मनाउन भने गाउँघर नै फर्किन्छन् भन्ने कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ।

गीतको शब्द गोरखा गण्डकी गाउँपालिका–४ का सन्तोष पन्तले लेखेका हुन् । त्यस्तै गीतमा संगीत पनि पन्तले नै भरेका छन्। पन्तले पहिलो प्रयासलाई दर्शक स्रोताले मन पराउने विश्वास व्यक्त गरेका छन्।

‘परदेशमा रहने नेपालीले दशैंमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ,’ पन्त भन्छन्, ‘आशा छ गीतले दर्शकको मन छुनेछ।’

गीतमा संगीत संयोजन चेतन गोतामेको छ भने गीतको भिडियो मदन खड्काले निर्देशन गरेका हुन्। वीरेन्द्र भट्टले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन्।

यस्तै गीतमा राजु ढकाल, देवी घर्ती मगर, रविन लामिछाने र गायिका डल्लाकोटीको आवाज रहेको छ।

‘ह्याप्पी दशैं’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिक्रिया