पशुपति क्षेत्रको वाग्मती किनारमा विशेष सफाइ


काठमाडौं – पशुपति क्षेत्रथित भष्मेश्वर घाटमुनिको वाग्मती नदी किनार र त्यस वरपरको क्षेत्रमा विशेष सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३६औँ हप्तामा भष्मेश्वर घाट क्षेत्रमा ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ गरिएको हो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, नायक शिव श्रेष्ठ, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, काठमाडौँ महानगरपालिका- ९ का सदस्य टेकराज अधिकारीलगायत सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सक्रियतामा यस क्षेत्रमा सफाइ गरिएको हो ।

भष्मेश्वरघाटबाट हंसमण्डपसम्मको क्षेत्रमा पनि आज विशेष सफाइ गरिएको अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन । पशुपति क्षेत्रको धेरै स्थानमा फोहर भएकाले कोषले निरन्तर रुपमा सफाइ गर्ने जानकारी गराएको छ ।

भदौ २५ गते पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएपछि दर्शनार्थीको भीडसमेत बढ्न थालेकाले यस क्षेत्रको विशेष सफाइ गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण साढे चार महिनासम्म पशुपतिनाथ मूल मन्दिर बन्द गरिँदा पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइसमेत हुन नसकेकाले विशेष सफाइ अभियान सुरु गरिएको हो ।

स्वच्छ पशुपति अभियान सुरु 

कोषका कार्यकारी निर्देशक खतिवडा पशुपति खुलेसँगै स्वच्छ पशुपति अभियानको सुरु गरी आजदेखि सफाइ थालिएको बताए । वाग्मती सफाइ महाअभियान नजोडिए पनि कोषले यो अभियानलाई हप्तामा आज बिहान एक घण्टा निरन्तरता दिने बताए । यो अभियानअन्तर्गत पशुपति क्षेत्रका मठमन्दिर, घाटलगायत क्षेत्रको विशेष सफाइ गरिने जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४०५औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । कुहिने फोहर जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ । नकुहिने फोहर प्लाष्टिक बोत्तलमा हालेर इँटा बनाउन उपयोग गरिने वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रेहेका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रको सफाइबाट फोहर ‘डम्पिङ साइड’ नपठाउने योजनाका साथ सफाइ भइरहेको छ ।

मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको २३४औँ हप्तामा काठमाडौँ महानगरपालिका- ३२ स्थित कोटेश्वर क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा प्रहरीसहित अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी काठमाडौँ उपत्यकाका विष्णुमतीको माथिल्लो र तल्लो भाग, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदी पनि सफाइ गर्न थालिएको हो ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हाल उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज प्रतिकूल परिस्थितिका बाबजुद पनि सफाइ हुने गरेको छ ।

महाअभियानको प्रभावले काठमाडौँ उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । उपत्यकाबाहिर १०८ भन्दा बढी स्थानमा सफाइ सुरु भइसकेको छ ।

प्रतिक्रिया