

५ सिट पनि नजित्ने माओवादीलाई ३६ सिट जिताउँदाको परिणाम भोगें : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल दुबै कम्युनिष्ट नभएको बताएका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
सम्बोधनकै क्रममा अध्यक्ष ओलीले ५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको भन्दै उनले भने, ‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’
उनले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका छन् । तर दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने उनले बताए । अध्यक्ष ओलीले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश पोखे । प्रचण्ड र माधवकुमार नेपाल दुबै कम्युनिस्ट नभएको भन्दै उनले भने, ‘माधव नेपाल गुटसँग केही हुँदैन ।’
प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका उनले दुबै नेतालाई मधु-कैटवको संज्ञा दिएका छन् ।

