

अब ‘सक्किगोनी’ आफ्नै युट्युब च्यानलबाट आउने

काठमाडौं – चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब आफ्नै युट्युब च्यानल जेपिटी क्रियशन अफिसियल बाट प्रशारण हुने भएको छ। यसअघि ‘सक्किगोनी’ ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रशारण हुँदै आएको थियो।
ओएसआर युट्युब च्यानलसँगको सम्झौता सकिएपछि अब ‘सक्किगोनी’ अब आफ्नै युट्युब च्यानल जेपिटी क्रियशन अफिसियल बाट प्रशारण हुने सिरियलका निर्देशन कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए।
दर्शकहरुले ‘सक्किगोनी’ अबदेखि प्रत्येक बिहीबार बेलुकी ९ः०० बजे आफ्नै युट्युब च्यानल जेपिटी क्रियशन अफिसियलबाट हेर्न पाउने कट्टेलले बताए। उक्त कुरा कट्टेलले आफ्नो फेसबुकमार्फत पनि जानकारी दिएका छन्।
‘आदरणीय दर्शकवृन्द नमस्कार, तपाईहरुले अत्यधिक माया गरेर मनोरञ्जन लिइरहनुभएको ‘सक्किगोनी’ अबदेखि प्रत्येक बिहिबार ९ बजे हाम्रो आफ्नै युट्युब च्यानल बाट हेर्न पाउनुहुनेछ,’ कट्टेलले फेसबुकमा लेखेका छन्।
‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ। कुमार र अर्जुन घिमिरेको लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथमा सागर लम्साल, हरि निरौला, दीपक आचार्य, कमलमणि नेपाल, गोविन्द कोइराला, रश्मी पाण्डे, प्रियाना आचार्य लगायतको अभिनय रहँदै आएको छ।
टेलिसिरियललाई दर्शकले रुचाउँदै आएका छन्।

