दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्नेे तयारी


काठमाडौं – सरकारले देशैभरका सिनेमा हल खोल्न अनुमति दिएपछि दशैं-तिहार वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्ने विषयमा चलचित्र संघले यतिबेला विभिन्न फिल्मका निर्मातासँग छलफल गरिरहेको छ ।

महिनामा २ वटा मात्रै नेपाली फिल्म रिलिज गर्ने र विदेशी फिल्मसँग नजुधाउने गरी यही दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्ने तयारीमा चलचित्र संघ छ । ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले तिहारमा फिल्म रिलिजका लागि चलचित्र संघसँग निरन्तर छलफल भइरहेको बताए ।

त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठले दशैंमा फिल्म रिलिज गर्ने प्रस्तावमाथि चलचित्र संघमा छलफल भइरहेको बताए । उनले भने, ‘दशैं वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्नेमा निर्णय हुन बाँकी छ । यद्यपि, दशैंमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने प्रस्तावमा छलफल भइरहेको छ । केही हदसम्म लगानी सुरक्षित हुने ‘एमजी’ मिलेको खण्डमा फिल्म रिलिज हुन्छ ।’

कोरोनाका कारण लामो समय सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दर्जनौं फिल्ममाथि भएको अर्बौंको लगानी फ्रिज भएको छ । सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । तर, तत्काल फिल्म रिलिज गर्न निर्माताहरु वितरक र हल व्यवसायीबाट राम्रो ‘एमजी’ को आशमा छन् ।

प्रतिक्रिया