आज सार्वजनिक हुँदै ‘नमस्ते पे’,अनलाइन र अफलाइन मोबाइल वालेट सेवा


काठमाडौं – लामो समयको प्रतिक्षापछि मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ आज सार्वजनिक हुँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागेको हो ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हो । ‘नमस्ते पे’ बाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने जानकारी दिँदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रयाेगकर्ताले मोबाइलबाट आर्थिक कारोबारको नयाँ अनुभव लिनसक्ने बताए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणकाे व्यवसायकि सञ्चालन गरिने छ । तत्कालका लागि राष्ट्रिय वाणािज्य बैंकमा खाता हुनेहरूले यो सेवा प्रयोग गर्नसक्ने राष्टिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बताए । प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन्। बाँकी कुन कुन सेवा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले मंगलबार नै जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया