दुई किशोरीलाई बेच्न भारत लैजाँदै गरेका महिला पक्राउ


सिरहा – मानव बेचविखनमा संलग्न भएको आरोपमा प्रहरीले सिरहाबाट दुई महिलालाई पक्राउ गरेको छ । दुई किशोरीलाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीको कञ्चनरपुर नगरपालिका–११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ की ३५ वर्षीया उषादेवी मलाह पक्राउ परेका हुन् । उनीहरुले १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले सिरहाको माडर हुँदै भारत लैजाँदै गरेको अवस्थामा चोहर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार सप्तरीका ती किशोरीलाई लहानमा मासिक ५० हजारको जागिर लगाई दिने प्रलोभन दिएर उनीहरुले घरबाट ल्याएका थिए। लहान आइसकेपछि जनकपुरमा अझ धेरै कमाइ हुने भन्दै झुक्याएर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सिरहा जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाइने उनले बताए । उद्धार गरिएकी किशोरीलाई अभिभावकको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया