स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित भारतीय नागरिकलाई गएराती नियन्त्रणमा लिएको छ।

मंगलबार राति भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई प्रहरीले पक्राउ गरेको हो। धादिङबाट काठमाडौंतर्फ आउँदै गर्दा सार्वजनिक बसमा चेकजाँच गर्ने क्रममा आदक पक्राउ परेका हुन्।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

काठमाडौं जोरपाटीस्थित एउटा सुुन पसलमा काम गर्ने आदक धादिङबाट अवैध सुन कारोबारको रकम लिएर काठमाडौं आउँदैगर्दा चेक प्वाइन्टमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंबा एसएसपी अशोक सिंहले बताए।

आदकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको र उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया