

सुर्खेतमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, नौ जना प्रहरी नियन्त्रणमा

काठमाडौं – सुर्खेतमा १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। ९ जना युवाहरुले मिलेर १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी, प्रेमबहादुर शाही र अर्का एकजना नाम नखुलेको शाही थरका व्यक्ति रहेका छन्।
उनीहरुलाई पश्चिम सुर्खेतको बाबियाचौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) राम प्रसाद घर्तीमगरले जानकारी दिए।
किशोरीका आफन्तले बलात्कारको उजुरी दिएपछि तत्कालै खटिएको ईलाका प्रहरी कार्यालयले आरोपित सबैलाई पक्रेको हो। किशोरीका अनुसार उनीहरुले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिने प्रलोभनमा फकाउँदै उक्त कार्य गरिएको थियो।
किशोरीलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको उजुरीको आधारमा प्रकाउ गरिएको डिएसपी घर्तीमगरले बताए।
बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाघरमा बस्दै आएकी किशोरीमाथि बलात्कार भएको प्रहरीको भनाइ छ।
थप अनुसन्धानको लागि उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगर लगेर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।

