अफगानबाट परिवारै भाग्दा सडकमा छुटेका बालबालिकाको राष्ट्र संघद्वारा उद्धार


काबुल – अफगानिस्तानमा तालिबान सत्तामा आएपछि बनेको अस्तव्यस्त परिस्थितिका बीच छुटेका सयौं बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनसँगै हजारौंले रातारात अफगानिस्तान छाडेका थिए ।

त्यतिबेला आफ्ना बाबु आमासँग विदेश जान विमानस्थल र त्यस आसपासका क्षेत्रमा पुगेका सयौं बालबालिका सडकमै छुटेका थिए । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३ सय जना बालबालिका दर्ता भएका थिए ।

युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै भने, ‘हामीले करिब ३ सय बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौं । अझै धेरै बालबालिकाले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो संख्या थप बढ्न सक्छ । उनीहरूको पहिचान तथा छानबिन गर्ने प्रयास जारी छ ।’

अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिएका थिए । जतिबेला भागदौडको अवस्थासमेत सिर्जना भएको थियो । त्यहीबेला धेरै बालबालिका आफ्ना अभिभावकबाट छुटेर अलपत्र परेका थिए ।

अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजारभन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिसनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरूसहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, युरोपलगायतका केही एसियाली मुलुकमा शरण दिइएको छ ।

जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकालाई उद्धार गरिएको युनिसेफले जनाएको छ । फोरले भने, ‘विमानस्थलमा संकट देखा परेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटी कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्न सक्छु ।

छुट्टिएका बालबालिका ‘संसारका सबैभन्दा कमजोर’ केटाकेटी भएका उनले बताए । पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरूलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्क रहेको उनको भनाई छ । ‘सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुव्र्ययवहार, उपेक्षा र हिंसाबाट जोगाउनु पर्छ,’ उनले भने ।

युनिसेफले हाल उद्धार गरिएका बालबालिकाको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको छ । अझै पनि अफगानिस्तानमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिने युनिसेफले जनाएको छ । एजेन्सी

प्रतिक्रिया