

तेह्र लाख ५० हजार जरिवनापछि फरार गजुरेल पक्राउ

काठमाडौं – नेपाल प्रहरीले १३ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 9सिआइबी)ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले १३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका नुवाकोट बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका-१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई आज पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ असार २८ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम १३ लाख ५० हजार जरिवानापछि फरार रहेका गजुरेललाई आज बालाजु शेषमतीपुलबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका गजुरेलले आफ्नो बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

