कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा (राजीनामासहित)
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष समेत रहेका विश्वकर्माले दुवै पदबाट बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका हुन् ।
विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै महाधिवेशनको पूर्वसन्ध्यामा राजीनामाको घोषणा गरेका हुन् ।
विश्वकर्माले राजीनामामा भनेका छन, ‘षड्यन्त्र मुलक ढंगबाट दलित समूदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन’ उनको राजीनामा पत्रमा भनिएको छ, ‘यो प्रवृत्तिले नेपाली काँग्रेस पार्टीमा दलित समूदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र पार्टीको भ्रातृ संस्था दलित संघको अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवम् अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकाले दुबै पदबाट आजैदेखि लागू हुनेगरी राजीनामा गरेको छु ।’
उनले पार्टीको सिद्धान्त, नीति र आदर्शप्रति भने प्रतिबद्ध रही न्याय, समानता र स्वतन्त्रताका लागि सदैव लडिरहने प्रण गरेका छन् ।