

एनआरएनएमा हङकङबाट तीन जनाको उम्मेदवारी

काठमाडाैं – गैरआवासीय नेपाली संघको आसन्न विश्व महाधिवेशनमा हङकङबाट तीन जनाले उम्मेदवारी घोषणा गरेका छन्। अघिल्लो हप्ता एनआरएनए हङकङले कार्यक्रम नै आयोजना गरी त्रिलोक गुरुङ, राधिका गुरुङ र दिलिप गुरुङको उम्मेवारी सार्वजनिक गरेको हो।
एनआरएनएको केन्द्रीय उपाध्यक्षमा त्रिलोक (यमकुमार) गुरुङ, महिला सचिवमा राधिका (टीका) गुरुङ र एशिया प्यासेफिक क्षेत्रीय उपसंयोजकमा दिलिपसिं गुरुङको उम्मेदवारी घोषणा भएको हो। त्रिलोक गुरुङ र राधिका गुरुङ यसअघि हङकङको अध्यक्ष रहिसकेका छन् भने दिलिपसिं गुरुङ अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य भइसकेका व्यक्ति हुन्।
अक्टोबरमा हुने विश्व महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ। एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले हङकङका उम्मेदवारहरू अनुभवी र सक्षम भएकाले विजयी हुने विश्वास व्यक्त गरे।
‘स्थापनाकालदेखि नै एनआरएनएको बिभिन्न पदमा रहेर योगदान दिँदै आउनु भएका हाम्रा अग्रज उम्मेदवारहरूको विजय सुनिश्चित छ’, ढकालले भने, ‘एनआरएनए हङकङका सबै पार्सदहरूलाई सहयोगका निम्ति अनुरोध गर्दछु।’
अध्यक्ष ढकालले तीनै जना उम्मेदवारलाई विजयका लागि शुभकामना दिँदै लेखेका छन्, ‘हङकङको गौरव, हङकङको शान, अग्रज उम्मेदवारलाई हामी सबैको मतदान।’

