

अडिओ सार्वजनिकसँगै एक्सनमा प्रधान कार्यालय, एसपी शाहलाई जिम्मेवारीबाट हटाइयाे

काठमाडौं – पत्रकारलाई फसाउन लागुऔषध राखिएको घटनामा रौतहटका प्रहरी प्रमुखकै संलग्नताको रहेको पाईएको छ ।
जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने जानकारी गराउँदै तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । रौतहटका एसपी शाहलाई जिम्मेवारी मुक्त गरिने भएको स्रोतले जानकारी दिएको छ ।
पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी शाहकै योजनामा भएको आशंका गरिएको हो । एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनी शंकाको घेरामा परेका हुन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ ।
तर घटनामा निर्दाष सावित भएका दुई पत्रकारलाई सोमबार छाडिएको छ । त्यस्तै सोमबार नै घटनामा संलग्न रहेको पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको थियो । तर एसपीले घटनामा संलग्नसँग गरेको कुराकानीमा उनकै योजनामा भएको देखिएपछि प्रधान कार्यालयले छानबिन थालेको हो ।
गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो ।

