

पत्नी र बाबुको ‘यौन सम्बन्ध’ थाहा पाउँदा धनुषाका भागेश्वरले रोजे अपराधको बाटो
रामवृक्षलाई फरुवा र लाठीले हिर्काए, अम्रिकादेवीको घाँटी थिचेर हत्या गरे

काठमाडौं– १० वर्षदेखि धनुषाको मिथिला नगरपालिका–५ ललियाका भागेश्वर मण्डल वैदेशिक रोजगारीमा जाने आउने गर्थे। उनी पहिलो पटक २०६७ सालमा मलेसिया गएर ४ वर्षपछि फर्किए।
घर फर्किएका उनले २०७३ सालमा घर नजिकैकी अम्रिकादेवीसँग बिहे गरे। बिहेपछि उनी विदेश जान छाडेनन्। त्यसपछि उनी रोजगारीको सिलसिलामा कतार गए। कतार गएको साढे २ वर्षपछि उनी नेपला फर्किए।
उनीहरुको दाम्पत्य जीवन राम्रैसँग चलिरहेको थियो। घर आएका भागेश्वर पछिल्लो समय गत चैत ०७७ पुसमा फेरि कतार गए। तर, उनी कतार गएको तीन महिना नपुग्दै नेपाल फर्किए।
नेपाल फर्किएपछि पत्नीसँग उनको बारम्बार झगडा हुन थाल्यो। गाउँलेले विदेशमा रहँदा भागेश्वरलाई पत्नी ससुरासँग लागेको कुरा सुनाइदिएपछि उनी छोटो समयमै कतारबाट फर्किएका हुन्।
उनीहरुबीच कहिल्यै राम्रो भएन। उनले पटक–पटक आफ्नी पत्नी र बुबा रामवृक्षलाई सम्झाइरहन्थे। तर, केही सिप नलागेपछि उनले हत्याकै योजना बनाए।
योजनाअनुरुप नै भागेश्वरले सोमबार राती उनीहरु दुवैजनाको हत्या गरेको पाइएको छ। आफ्नै बुबा र पत्नीको हत्या गरी शव गाडेको अवस्थामा भाग्दै गर्दा भागेश्वरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।
२७ वर्षीय भागेश्वरले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष र पत्नी २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेका हुन्। हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख (एसपी) प्रकाश रानाभाटले जानकारी दिए।
सोमबार साँझ पनि उनीहरुबीच विवाद हुँदा राती मारेर खाल्डोमा गाडेको भन्दै भागेश्वरले प्रहरीसमक्ष स्वीकार गरिसकेको एसपी रानाभाटले बताए। हत्या गरेर बारीको झाडीमा उनले शव गाडेका थिए।
बुबालाई खेत खन्ने फरुवा र बाँसको लठ्ठीले हिर्काएर हत्या गरेको र पत्नीको घाँटी कसेर हत्या गरेको भागेश्वरले प्रहरीसमक्ष बयान दिएका छन्।
प्रहरीले घटनास्थलमा पुगेर गाडेको शव निकालिसकेको छ। ‘लामो समयदेखि बुवा र पत्नीबीच अनैतिक सम्बन्ध रहेको थाहा पाएको थिएँ,’ त्यसै कारणले घरमा विवाद हुँदै आएको भागेश्वरले प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा भनेका छन्।
‘बुबा र पत्नीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गरेका भागेश्वरको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको खुलेको छ,’ प्रहरी उच्च स्रोतले भन्यो। सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र पत्नीको हत्या गरेको हुन सक्ने शंका छ।
बुबा र पत्नीको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो। उनीहरुको एक छोरा र एक छोरी छन्।

