३० वर्षदेखि एउटै सपनाकी सहकर्मी दीपाश्रीलाई दीपकको शुभकामना


काठमाडौं – आज भदौ ७ गते कलाकार, निर्देशक तथा निर्माता दीपाश्री निरौलाको जन्मदिन । जन्मदिनमा उनका नजिकका साथी दीपकराज गिरीले भावनात्मक शैलीमा शुभकामना व्यक्त गरेका छन् । उनलाई आफ्नो सफलताको श्रेय मानेका दीपकले विगतदेखि वर्तमानसम्मको सहयात्रालाई सम्झिएका छन् ।

सामाजिक सञ्जालमा लामो पोष्ट राख्दै उनले दीपालाई भगवानले आफ्नो जीवन यात्रा सहज बनाउन पठाएको बताएका छन् । उनले मुख छुच्चो तर मन कोमल भएकी दीपा भन्दै उनलाई करोडौँ अरबौँ खरबौँ शुभकामना दिएका छन् ।

दिपककाे फेसबुक

३० वर्ष अघिको कुरा हो

म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न

खुट्टामा चप्पल हुन्थ्यो , शरीरमा झुत्रे लुगा

तर आँखामा मिठो सपना थियो

मेहनत धेरै गरे , सङ्घर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो

हरेक दिन सङ्घर्षसँगै ईश्वरसँग प्रार्थना गरिरहन्थे

न मेहनत काम लागिरहेको थियो, न प्रार्थना !

त्यही समय रेडियो नेपालमा एक दिन उनीसँग मेरो भेट भयो

त्यो भेट विस्तारै सहकार्यमा बदलियो,

‘राम विलास धनियाँ’ ५ वर्ष , ‘तीतो सत्य’१२ वर्ष

विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु

मैले ईश्वरसँग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए

तर ईश्वरले आशीर्वादको रूपमा कति बेला उनीलाई मेरो साथी बनाएर पठाएछन् पत्तै भएन !!!

उनी एउटा यस्तो साथी, जो अरूको खुसीका लागि आफ्नो खुसी त्यागिदिन्छ, जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिँजडामा थुन्न सक्छ !!!

अरूकै लागि हाँस्न सक्ने,अरूकै लागि बाँच्न सक्ने

कसैको आँसु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो

जसले जे भनोस् उनी संसार कै सबैभन्दा जाती छिन्

मेरो एउटा साथी छिन् !!!

जो सबैभन्दा माथि छिन् !!!

तिमीलाई जन्मदिनको लाखौँ, करौडौ, अरबौँ, खरबौँ शुभकामना

प्रिय साथी दीपा !!

प्रतिक्रिया