त्रिभुवन विश्वविद्यालय र राष्ट्र बैंकबीच फेलोसिप सम्झौता, विद्यार्थीलाई अनुसन्धान गर्न दिने


काठमाडौं – नेपाल राष्ट्र बैंकले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई प्राज्ञिक शोध तथा अनुसन्धान गर्न फेलोसिप दिने भएको छ । बैंक र त्रिभुवन विश्वविद्यालयबीच विद्यार्थीलाई प्राज्ञिक शोध तथा अनुसन्धान गर्न फेलोसिप दिने सम्झौता भएको हो । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबार बैंकमा आयोजित कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो ।

उक्त सझदारीपत्रमा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका का.मु.कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा रामजी गौतमले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्न प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउने भएको छ ।

साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारी भएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया