सम्भावित रहस्य: देउवापछि माधव नेपाल प्रधानमन्त्री!

के सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ? प्रचण्ड सहभागी सत्ता समीकरणमा सम्भावित छन् यस्ता समझदारी


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदा आवधिक निर्वाचन आउने समय कम्तिमा १८ महिना बाँकी थियो। सत्ता गठबन्धनमा विभिन्न प्रकारका सहमति भएका छन् र केही गोप्य सहमति भएको हुन सक्ने मेरो अनुमान छ।

माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरी एमाले समाजवादीका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको अड्कल स्वभाविक बनेको छ।

एमालेबाट नेपाल समूहलाई विद्रोह गराई फरक पार्टी गठनका लागि जुन प्रकारले सरकारले सहजीकरण गरेको छ, त्यहाँ नेता नेपाललाई फेरि प्रधानमन्त्री बनाउनेगरी गोप्य सहमति भएको हुन सक्ने लख काट्न सकिन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने राजनीतिक सहजीकरण र समीकरणमा यस्ता सम्भाव्यताहरु जीवित हुन्छन्। आवरणमा देखिने राजनीतिक परिदृश्यभित्र स्वार्थका अनेक सहमति भएका उदाहरणले पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउने गोप्य सहमति भएको हुन सक्ने स्वभाविक अनुमान गर्न सकिन्छ।

केही अनुत्तरित प्रश्न र तर्कहरूले यस्तो गोप्य सहमति भएको हुन सक्ने सुविधा दिन्छ।

जीवनका हरित समय नेकपा एमालेका लागि खर्चिएका माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षमा साथ दिने ‘क्रिम नेताहरू’बिना नै किन पार्टी विभाजनका लागि हतारो गरे?

अध्यादेश आएको भोली पल्ट नै नेता नेपालले पार्टी अलग गरी अगाडि बढ्नुको रहस्यमा निरन्तर कोटेश्वरमा हुने प्रचण्डसँगका विविध भेट र प्रधानमन्त्री नियुक्त हुनासाथ शेरबहादुर देउवाको कोटेश्वर यात्राले शंकाको सुविधा दिँदैन र?

जहाँ प्रचण्ड त्यहाँ गोप्यताका अनेक श्रृङ्खला हुन्छन् भन्ने तर्कका लागि यसअघिका कतिपय उदाहरणले स्पष्ट नै गर्छ।

जब पहिलो पटक प्रधानमन्त्री पदबाट प्रचण्डले राजीनामा दिनु परेको थियो, उनले नेपाल नेतृत्वको सरकारलाई राजीनामा दिन पनि बाध्य पारे। प्रधानमन्त्रीमा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेका थिए।

खनाल प्रधानमन्त्री बनेको महिना दिन बितेपछि मात्र ‘७ बुँदे गोप्य सहमति’को विषय सार्वजनिक भएको थियो। जसको तिव्र बिरोध भएपछि खनाल सरकार ६ महिनामा नै ढल्यो।

अहिलेको सत्ता समीकरणमा गोप्य सहमति हुन सक्ने आँकलनलाई प्रतिशतका आधारमा अधिकतममा राख्न सकिने सम्भाव्यको अर्को तर्क हो– ओली पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डलाई सत्ता हस्तान्तरण नगर्नू!

ओली र प्रचण्डबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो। नौ महिनासम्म पनि ओलीले सत्ता नछाड्दा उनलाई अविश्वासको प्रस्ताव दर्ता गराई देउवासँग नौ–नौ महिनाको अर्को सहमति गरी प्रचण्डको सत्तारोहण भएको थियो।

घटनाक्रमले एमाले र माओवादी गठजोडसहित एकताको घोषणाले चुनावमा जुन मत परिणाम आयो। ओली प्रधानमन्त्री भएको केही महिनामा नै गोप्य र आलोपालो सरकार चलाउने सहमतिको विषय सतहमा आयो। जसले एमाले र माओवादीका नेता नै चकित खाएका थिए।

चाणक्यले भन्छन्– कुनै पनि मित्रता बिनास्वार्थको हुँदैन। त्यसमा कुनै न कुनै स्वार्थ अवश्यभावी हुन्छ। अहिले प्रचण्ड–माधव नेपालको घनिष्टताको स्वार्थ सत्ता र कुर्सीभन्दा के हुन सक्ला?

नेकपा विभाजन हुनुको कारण पनि त्यहि थियो। आलोपालो प्रधानमन्त्री र अध्यक्ष चलाउने गोप्य सहमतिलाई ओलीले नटेर्दाको अवस्थामा गठबन्धन मात्र भत्किएन कम्युनिस्ट सरकार गिराएर प्रचण्डकै नेतृत्वमा देउवा सरकार अहिले विद्यमान छन्।

प्रतिनिधि सभा विघटनदेखि पुनःस्थापनाका यी परिघटनाहरु ओली–प्रचण्ड गोप्य सहमतिको कार्यान्वयन नहुनुको पराकम्पन मात्र थिए।

अब, माधव नेपालले नयाँ पार्टी गठनका लागि हतारो नै गरेपछि प्रचण्डको प्रतिक्रियाविहीन अवस्थाले स्पष्ट संकेत गरेको छ, कुनै गोप्य सहमति भएको हुनुपर्छ। जहाँ, माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति छ।

एमालेभित्र समान शक्तिमा रहेका माधव नेपाल सानो झुन्ड लिएर पार्टी विभाजनको अवस्थामा यति हतारोका साथ मैदानमा उत्रिनुलाई अचम्मित अवस्थामा संश्लेषण गर्नुपर्छ। दोस्रो तहका साथ दिने नेताहरूका भनाई र सहमतिको विन्दुलाई पनि नमानी नेता नेपाल उद्दत हुनुको कारण केही महिनामा प्रधानमन्त्रीको कुर्सीमा आफूलाई बिराजमान देख्नु नै हुनुपर्छ।

चाणक्यले भन्छन्– कुनै पनि मित्रता बिनास्वार्थको हुँदैन। त्यसमा कुनै न कुनै स्वार्थ अवश्यभावी हुन्छ। अहिले प्रचण्ड–माधव नेपालको घनिष्टताको स्वार्थ सत्ता र कुर्सीभन्दा के हुन सक्ला?

लामो समयसम्म पार्टीको प्रमुख भएर आफैंले मलजल गरेको एमालेलाई यति सरल हिसाबले विभाजनमा लैजानुका पछाडि माधव नेपाललाई प्रचण्डले प्रधानमन्त्रीको कुर्सीको चुम्बकीय ताकत अवश्य देखाएको हुनुपर्छ।

एमाले विभाजन नगरी नेता नेपाल प्रधानमन्त्री हुने कुनै सम्भावना नै नहुने अवस्था छ। एमाले संसदीय दलका नेता ओली रहेका कारण नेता नेपाललाई प्रतिपक्षी पार्टीमा रहेर प्रधानमन्त्री हुने नैतिकता हुने थिएन। यसकारण उनले पार्टी विभाजन गरेका हुन्।

जहाँ प्रचण्डको सत्ता समीकरण हुन्छन् त्यहाँ रहस्यहरू जीवित हुने सम्भावना छन्। ति रहस्यहरू मध्ये माधव नेपाललाई देखाइएको प्रधानमन्त्रीको कुर्सी एउटा हुनसक्छ, जुन अहिले अंकुराइरहेको होला। भविष्यमा यो एउटा आश्चर्यजनक सत्यका रुपमा सार्वजनिक भए दुनियाँले अचम्म मान्ला, मलाई नौलो लाग्नेछैन।

प्रतिक्रिया