

अवैध लागूऔषध सहित ७ जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-६ तेन्जिङ चोकबाट १ केजी अवैध लागूऔषध पोल्याण्ड सहित सोही ठाउँ बस्ने पाँचथर फिदिम घर भएका २३ वर्षीय दिपेन भारतीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पोल्याण्ड सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ जलजला होटलबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका-१३ बस्ने राहुल पुन मगर रहेका छन् ।
उक्त होटमा शंकास्पद तरिकाले बसेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२७ स्थित सडकबाट ३ केजी ७४ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.१७ प २१५७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी स्कुटर चालक ती किशोर लगायत २ जनालाई पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-६ जरेबर डेरा गरी बस्ने धादिङ घर भएका १८ वर्षीय किशोरलाई करिब १ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१२ मङलबारेबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पाउडरको धुलो सहित केराबारी गाउँपालिका डागी बस्ने २३ वर्षीय सागर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

