२६ करोड ठगीमा सीआईबीले समात्यो इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपाने


काठमाडौं– २६ करोड ठगी प्रकरणको फरार सूचीमा रहेको नेपाल इन्जीनीयरिङ कलेज चाँगुनाराण भक्तपुरका अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समातेको छ।

मन्थली नगरपालिका–८ रामेछाप, घर भई हाल चण्डोल बस्ने ६४ वर्षिय न्यौपामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ करोड ठगीमा मुद्दा दायर गरेको थियो। उनी अदालतको फरार सूचीमा थिए।

न्यौपानेलाई चण्डोलबाट पक्राउ गरेको सीआईबी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापाले बताए ।

उनीबिरुद्ध आयोगले तत्कालिन आयुक्त राजनारायण पाठकसँगै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले नै मुद्दा दायर गरेको थियो ।

अख्तियारले कलेजका संचालकहरुसमेत न्यौपानेविरुद्ध २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ५१ पैसा बिगो कायम गरेको छ । स्वयं न्यौपानेका नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बिगो कायम गरिएको थियो । न्यौपानेमाथि नेपाल इन्जीनीयरीङ कलेजलाई सरकारले भोगाधिकार दिएको जग्गासमेत गैरकानुनी रुपमा दर्ता गरेको अभियोग छ।

प्रतिक्रिया