

वीपी प्रतिष्ठानमा अख्तियारको छापा, कागजात जफत

काठमाडौं – बिहीबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
लामो समयदेखि आर्थिक अनियमितताको आरोप खेपिरहेको प्रतिष्ठानमा अख्तियारको काठमाडौं र इटहरीस्थित कार्यालयको संयुक्त टोलीले छापा मारेको हो ।
उक्त क्रममा प्रतिष्ठानबाट विभिन्न कागजातहरु नियन्त्रणमा लिएको र खरीद सम्बन्धि कागजातहरु पनि नियन्त्रणमा लिएको अख्तियार स्रोतले बतायाे ।
प्रतिष्ठानमा भएका अनियमितताबारे अख्तियारमा उजुरीका चाङ नै छ। प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् । यही विषयमा लामो समयदेखि आन्दोलन पनि जारी छ।
स्वास्थ्य उपकरणदेखि प्रतिष्ठानमा चाहिने सामग्रीहरु खरीदमा अनियमितता भएको आरोप प्रतिष्ठानमाथि लाग्दै आएको छ ।

