प्रहरी सेटिङमा कोरोना महामारीबीच क्यासिनो सञ्चालन, बाँकेमा जुवा खेलाउनेको नालीबेली

जिल्लादेखि प्रदेशसम्म कति पुग्छ पैसा?


काठमाडौं– विगतमा क्यासिनोमा नेपालीको प्रवेशका कारण करोडपतिहरू एकै रातमा रोडपति भए। काठमाडौंमा करोडौंको महल भएकाहरू एकै रातमा डेरामा बस्ने अवस्थामा पुगेपछि सरकारले क्यासिनोमा नेपाली प्रवेशमा रोक लगाएको थियो। तर, अहिले पुनः कोरोना महामारीले व्यवसायहरू सबै ठप्प रहेको समयमा क्यासिनोमा नेपालीहरू प्रवेश गर्ने क्रम सुरु भएको छ।

कोरोना महामारीको सुरुवाती दिनमा अत्यधिक प्रभावित बनेको बाँके जिल्लामा अवस्था अझै सहज भइसकेको छैन। संक्रमण घटे पनि जिल्लामा अझै जोखिम कायमै छ। तर, प्रहरीको मिलेमतोमा सरकारले निषेध गरिएका गतिविधि समेत निर्वाध सञ्चालन भइरहेका छन्। कतिसम्म भने नेपालगञ्जमा प्रहरीकै सेटिङमा क्यासिनो समेत खुलाइएको छ।

नेपालगञ्ज–१० स्थित होटल ड्रिमल्याण्डमा सञ्चालित ह्याप्पी आवर नामक मिनि क्यासिनो गोप्य रुपमा सञ्चालन भइरहेको जानकारी अनलाइनन्युजलाई प्राप्त भएको छ। जहाँ भारतबाट जुवाडेहरूलाई ल्याएर खेलाइन्छ। त्यतिमात्र नभएर नेपाली नागरिकलाई पनि नक्कली आईडी बनाएर क्यासिनोमा छिराउने गरिन्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा जुवा खेलाउने गरिएको स्रोत बताउँछ।

बाँकेको खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्ल, सुरेन्द्रबहादुर सिंहलगायतको सो मिनि क्यासिनोमा लगानी छ। उनीहरूको समूहले अवैध रुपमा क्यासिनो बाहिर समेत जुवा खेलाउँदै आएका छन्। ह्याप्पी आवर क्यासिनोको सञ्चालकमा एमाले नेताहरूको पनि लगानी रहेको स्रोत बताउँछ।

देशभर ४ वटा शाखा खोल्ने अनुमति लिएको हयाप्पी आवरले पाँचवटा शाखा खालेर एउटा शाखा अवैध ढंगले सञ्चालन गरिरहेको समेत पाइएको छ। ह्याप्पी आवरले नेपालगञ्जको होटल स्नेहा, काँकडभित्ताको होटल ढाका, महेन्द्रनगरको होटल स्वीट ड्रिम, भैरहवाको होटल लाकौल र होटल नान्समा गरी ५ वटा शाखा सञ्चालन गरिरहेको छ।

सरकारले दिएको अनुमति विपरीत २ वर्षदेखि एउटा क्यासिनो अवैध ढंगले सञ्चालन भइरहँदासमेत नियमक निकाय भने मौन देखिएको छ।

यस्तै सिद्धार्थ भ्यूमा सञ्चालित ज्याकपट ग्याम्लिङ सेन्टर पनि गोप्य रुपमा सञ्चालन भइरहेको छ। सिद्धार्थ भ्यूमा सञ्चालित ज्याकपट ग्याम्लिङ सेन्टरको सञ्चालक हुन् राजिव आचार्य। उनले बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीलाई समेत प्रभावमा पारेर क्यासिनो चलाइरहेको स्रोत बताउँछ।

यस विषयमा एसपी अधिकारीले कुनै सत्यता नभएको बताए। उनले भने, ‘यहाँ आएर बुझ्दा सबैकुरा प्रष्ट हुन्छ। हचुवाको भरमा कसले के भन्छ, म जान्न सक्दिन।’ बाँकेकै केही पत्रकारहरू आफ्नो पछाडि लागेको एसपी अधिकारीको भनाइ छ।

कोरोना महामारीको समयमा भारतबाट मान्छे ल्याएर क्यासिनो खेलाउन दिएको भन्ने आरोप पुष्टि गर्न एसपी अधिकारीले चेतावनी समेत दिए। तर, स्रोतले नेपालगञ्जमा अवैध रुपमा क्यासिनो सञ्चालन भइरहेको दाबी गर्दै ज्याकपट ग्याम्लिङ क्यासिनो र ह्याप्पी आवर क्यासिनाका सञ्चालकले आफ्ना नियमित ग्राहकलाई चर्को ब्याजदरमा ऋणसमेत उपलब्ध दिने गरेको बतायो।

अवैध रुपमा सञ्चालन भइरहेको मिनि क्यासिनोका सञ्चालकहरूले जिल्ला प्रहरी कार्यालयलाई महिनामा साढे २ लाख, प्रदेश प्रहरी कार्यालयलाई ३ लाख र वडा प्रहरी कार्यालयलाई डेढ लाख दिँदै आएको छ। यसरी पैसा नै लिएर सेटिङमा क्यासिनो सञ्चालन गर्न दिने प्रहरी अधिकारीहरूमाथि संगठन किन मौन छ? भन्ने प्रश्न उठेको छ।

अवैध रुपमा सञ्चालन हुने क्यासिनोको पछाडिको ढोकाबाट जुवाडे छिराएर खेलाउने गरिन्छ। जहाँ नेपालीहरू समेत पुग्ने गरेका छन्। जबकि नेपालीलाई क्यासिनो प्रवेश निषेध छ। उक्त क्यासिनोमा नक्कली आर्ईडी बनाएर यसरी नेपालीहरू प्रवेश गराई जुवा खेलाउने काम भइरहेको स्रोत बताउँछ।

मिनी क्यासिनो सञ्चालकले वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुखलाई मासिक दुई लाख घुस रुपैयाँ दिएर नेपालीको प्रवेशलाई सहज गराउँदै खुल्लम खुला जुवा खेलाउने गरेको आरोप छ। यो कुरा प्रहरी प्रधान कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको व्यापारीहरूले बताउन थालेका छन्।

क्यासिनोमा नेपालीहरूको प्रवेश भएसँगै धेरै व्यापारीहरूले लाखौँ लाख हार्ने गरेका कारण त्यसको असर व्यवसायमा समेत देखिन थालेको व्यापारीहरू बताउँछन्।

कानुनले अवैध भनिए पनि विगतमा क्यासिनो सञ्चालकहरूले प्रहरीलाई मासिक रकम दिँदै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाउने गरेको गुनासो आए पनि यसप्रति प्रहरी प्रधान कार्यालय मौन बस्ने गरेको छ।

नेपालगञ्जका चार वटा होटलले मिनि क्यासिनो सञ्चालन गर्ने अनुमति लिएका छन्। सोल्टी होटल, होटल स्नेहा, होटल ड्रिम ल्याण्ड र होटल सिद्धार्थ भ्यू। जसमध्ये २ वटा पूर्ण रुपमा बन्द रहेको अवस्था छ भने २ वटा सञ्चालन भइरहेको छ। सोल्टीमा रहेको ‘महाजंग’ क्यासिनाको सञ्चालक विनोद श्रेष्ठ हुन्।

भारतीय सीमा क्षेत्रमा खोलिएका मिनी क्यासिनोहरूमा दैनिक ३० देखि ४० लाखसम्मको कारोबार हुने गर्दछ। ठूलो कारोबार गर्ने क्यासिनोहरू अबैध रुपमा सञ्चालन भइरहँदासमेत राज्यका निकाय मौन बसेका छन्। नेपालगन्जमा सञ्चालन हुने क्यासिनोका धेरैजसो ग्राहक भारतीय हुन्।

प्रतिक्रिया