क्यासिनो एजेन्टसँग बाँके एसपी अधिकारीको उठबस, ‘कोसेली’ लिएपछि फोटोसेसन


काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीको क्यासिनोका नामुद एजेन्टहरूसँग उठबसको प्रमाण बाहिरिएको छ।

बाँके जिल्ला प्रमुख भएर पुगेको दुई महिना पनि नभई एसपी अधिकारी विवादैविादको थुप्रोमा उभिएका छन्। कोरोना महामारीमा पनि नेपालगञ्जमा मिनि क्यासिनोहरु निर्वाध सञ्चालन गर्न दिएर तिनका एजेन्टसँग कोसेली भेटमा रक्सी र मोबाइल लिने गरेको पाइएको हो।

क्यासिनो चलाउन दिएवापतको दैनिक कमिशन त बेग्लै छ।

बाँकेमा हाजिर भएको सुरुवाती दिनमा घुमुवालाई हटाएर राम्रो काम गरेको जस लिने खोजेका अधिकारी अहिले आफैं विवादित बन्न थालेपछि प्रहरी संगठनको चौतर्फी ओलोचना भएको छ।

एकपछि अर्को काण्डमा मुछिँदै आएका एसपी अधिकारीको नेपालगन्जमा रहेका मिनि क्यासिनोका एजेन्टहरुसँग निकटको उठबस पाइएको छ।

अनलाइनन्युजले एसपी अधिकारी र एजेन्टसँगको एउटा तस्बीर फेला पारेको छ। उनले कार्यालयको क्वार्टरमै एजेन्टहरूसँग भेट गरेका हुन्।

तस्बिरमा नेपालगन्जको सोल्टी होटलमा रहेको ‘माजोङ’ मिनि क्यासिनोका एजेन्ट झापाको मेचीनगर–६ काँकडभिट्टाका सुजित तामाङसँग एसपी अधिकारी एउटै सोफामा बसेका छन्।

सोफा अगाडि रहेको टेबुलमा कालो प्लाष्टिकले बेरेको अवस्थामा ब्रान्डेड रक्सी र मोबाइल तिनै एजेन्टले लगेका हुन्।  तामाङ पनि विवादित पात्र हुन्। विवादित पात्रलाई बोकेर एसपी अधिकारीले नेपालगन्जमा आफ्नो रबैया देखाउन थालेका छन्। उक्त मोबाइल नेपालगञ्जको चल्तीको मार्ट रोयल कर्णाली इलेक्ट्रो मार्टबाट खरिद गरिएको फेला परेको छ।

क्यासिनो एजेन्ट तामाङलाई मेन्सन गर्दै डम्बर खवासले उक्त फोटो गत ८ साउनमा फेसबुकमा राखेका थिए। बाँके गएको महिना दिन नबित्दै एसपी अधिकारीको तामाङसँग कसरी चिनजान भयो? पछिल्लो समय ठूला–ठूला क्यासिनोहरु बन्द भएपछि नेपालगन्जमा रहेको क्यासिनोमै उनीहरुबीच भेट भएर चिनजान भएको हुनसक्ने स्रोतको दावी छ।

तामाङ यस्तो व्यक्ति हुन् जो आफ्नो नजिक बनाउनको लागि कुनै कसर बाँकी राख्दैनन्। तामाङको झापामा आसाम टुर्स एण्ड ट्राभल छ। उक्त ट्राभलमार्फत उनले थुप्रै दुई नम्बरी कामहरु गर्ने गरेको समेत पाइएको छ।

नेपालको क्यासिनोहरुमा मात्र होइन, भारतीय क्यासिनोहरुमा समेत उनले जुवाडेहरु पठाउने गर्छन्। ‘माजोङ’ मिनि क्यासिनो भारतको सिक्किममा पनि छ। भारतको क्यासिनो सञ्चालक र नेपालगन्जका क्यासिनो सञ्चालक एउटै हुन्, विनोद श्रेष्ठ।

स्रोतका अनुसार श्रेष्ठको निर्देशनमा तामाङले जति पनि सिक्किम जाने जुवाडेहरुलाई आफ्नो ट्राभलमार्फत पठाउने गर्छन्। झापाको विमानस्थलबाट भारतीय गाडीमा राखेर जुवाडेहरुलाई सिक्किम पठाउने गर्छन तामाङ। ट्राभलमा उनले भारतीय रुपैयाँ सटही काउन्टर पनि राखेका छन्।

‘सिक्किम जाने जुवाडेको लागि तामाङले आफ्नै ट्राभलमा पैसा साँट्ने गर्छन्,’ उच्च स्रोतले भन्यो, ‘त्यसपछि आफ्नै ट्राभलको गाडीमा राखेर पैसा र मान्छेलाई भारत पठाउँछन्। त्यसो गर्दा नाकामा चेक समेत नहुने भएकाले तामाङले यसरी नेपालीहरुलाई जुवा खेल्न सिक्किम पठाउने गर्छन्।’

पछिल्लो समय एसपी अधिकारीको क्यासिनोका एजेन्टहरुसँग राम्रो उठबस रहे पनि प्रहरी प्रधान कार्यालय मौन छ। जिल्लाको प्रहरी प्रमुख विवादास्पद व्यक्तिसँग बसेर उठबस गर्नु, अझ उनीहरु बसेको टकलुमा रक्सीको बोत्तल र मोवाइल देखिनुले नेपालगन्जमा तस्कहरु मौलाएको बताइन्छ।

पैसा असुल्न पल्किएका एसपी अधिकारी बाँके गएपछि तस्करहरु मौलाएको एक प्रहरी अधिकृतले बताए। एसपी अधिकारीको जिम्मेवारीप्रति प्रहरी प्रधान कार्यालयले चासो नराखे पनि प्रदेश प्रहरी कार्यालयमा यसबारे खैलाबैला मच्चिएको छ।

कोरोना महामारीको कारण अधिकांश होटल, रेष्टुँरा, कलकारखाना, उद्योग, व्यवसायहरु बन्द रहेको बोला एसपी अधिकारीको मिलेमतोमा नेपालगन्जमा रहेका सबै क्यासिनोहरु खुलेआम सञ्चालन भएको प्रतिप्रश्न उठेको छ। एसपी अधिकारीले मोटो रकम लिएर क्यासिनो सञ्चालन गर्न दिएको आरोप छ।

एक दिनकै ३ लाख भारतीय रुपैयाँ लिएर एसपी अधिकारीले क्यासिनो सञ्चालन गर्न अनुमति दिएको यसअघि नै सार्वजनिक भइसकेको छ। एसपी अधिकारीले साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म क्यासिनो सञ्चालन गर्न दिएको स्रोतको दाबी छ।

राजधानीका क्यासिनो बन्द भएपछि नेपालका नाम चलेका जुवाडेहरु अहिले नेपालगञ्ज धाउने गरेका छन्। दोलखाका इन्द्र नेवार, बौद्ध क्षेत्रका जुवाडे राजन लामा यतिबेला नेपालगञ्जमा बसेर खुलेआमा जुवा खेलिरहेको स्रोतको दावी छ । केही दिनअघि मात्रै लामाले ३ दिनको अन्तरालमा ‘माजोङ’ क्यासिनोमा ९० लाख भारतीय रुपैयाँ हारेको समेत खुलासा भएको छ।

यसरी कानुनले अवैध भनिए पनि क्यासिनो सञ्चालकहरूले प्रहरीलाई मासिक रुपमा रकम दिँदै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाउने गरेको गुनासो आए पनि यसप्रति प्रहरी प्रधान कार्यालय मौन बस्नुको कारण खोजीनीति हुन थालेको छ। एसपी अधिकारीले संगठनलाई चुनौती दिँदै आफूलाई कसैले केही गर्न नसक्ने भन्दै आएको उनी निकट स्रोतले बतायो।

प्रतिक्रिया