

माओवादी नेतासँगको ‘कनेक्शन’को बलमा ‘एक्सपर्ट’ सञ्चालकले दबाएका थिए ‘एआईबीटी’ प्रकरण!
ठगीमा परेको आवाज उठाउनेका परिवारलाई दबाब, थर्काएपछि माफी मागिएको थियो

काठमाडौं– दर्ता नै नभएको अस्ट्रेलियन इन्सिटच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआईबीटी)मा पठाइएका एक हजार जना नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने विभिन्न कन्सल्ट्यान्सी मध्ये सबैभन्दा बढी एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसले तत्कालिन नेकपा तथा हालका माओवादी नेताको बलमा कतिपय प्रकरण दबाएको खुलेको छ।
अस्ट्रेलियामा नाम चलेका कन्सल्ट्यान्सीहरुले एआईबीटीमा नर्सिङ पढाउनका लागि मोटो रकम लिएर विद्यार्थी पठाएका थिए, जुन दर्ता नै नभएको र भविष्य अन्यौलमा परेको भन्दै पीडितहरु सार्वजनिक रुपमा मिडियामा आएका थिए।
त्यस मध्येकी एक जना सदृषा खरेलले एक्स्पर्ट एजुकेशन र भिसा सर्भिसले गरेका अन्यायपूर्ण कामका विषयमा खुलेर बोल्दा उनका परिवारका सदस्य समेतलाई दबाबमा पारेको खुलेको थियो। जुन विषयमा सदृषाले एक्स्पर्ट सञ्चालकलाई थर्काएपछि माफी मागेका थिए।
हेर्नुहोस् सदृषाले त्यसबेला दिएको प्रतिक्रिया
सोही प्रकरणमा शिक्षा मन्त्रालयले पत्र काटी एक्स्पर्टका काम कारबाही रोक गर्न भनेको थियो। तर, माओवादी नेता गिरीराजमणि पोखरेल शिक्षा मन्त्री भएका कारण एक्स्पर्टमाथि ठूलो कारबाहीको पहलकदमी भएन। यसका सञ्चालक बद्री अर्याल, सञ्जिव शर्माहरुको व्यावसायीक साझेदारी समेत माओवादीका नेतासँग रहेका कारण यस प्रकरण साम्य पार्न शिक्षामन्त्री पोखरेललाई पनि दबाब दिइएको थियो।
पछिल्लो समय माओवादी नेता तथा हालका अर्थमन्त्री जनार्दन शर्मासँगको सम्बन्ध सतहमा देखिएपछि एआईबीटी प्रकरण दबाउन अर्यालहरुले राम्रै कसरत गरेको प्रमाणित भएको छ। स्रोतले भन्यो,‘सत्ता र राजनीतिक तहमा सम्बन्ध कायम राखी विद्यार्थीलाई गरिएको कतिपय कानुनी कारबाहीको भागी हुने घटनालाई दबाउन उनीहरुलाई सहज बनेको छ।’
त्यसो त एआईबीटी प्रकरणमा पीडित भएका विद्यार्थीले अहिलेसम्म पनि सम्बन्धित कनसल्ट्यान्सीबाट न्याय पाएका छैनन्। त्यस मध्येका एक जना भन्छन्,‘हाम्रो दुई बर्षको करिअर त ध्वस्त बनाइयो। त्यसको क्षतिपूर्ति कसले दिन्छ?’
अस्ट्रेलियामा नै भएको एउटा कार्यक्रममा एआईबीटी प्रकरणका दोषी कन्सल्ट्यान्सीलाई कारबाही हुनुपर्ने माग उठेको थियो। छायाँ सरकारका रुपमा मानिने गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीले समेत सहयोग नगर्दा अहिले पनि विद्यार्थी मर्कामा छन्। एक्स्पर्टका सञ्चालकहरुले एनआरएनए पदाधिकारीलाई पनि प्रभावमा पार्दै आएको स्रोतको दाबी छ।
ठगी प्रकरणमा नाम मुछिएपछि एक्स्पर्टका सञ्चालकले अनेक प्रकारका सामाजिक कामका हत्कण्डा पनि मच्चाए। उनीहरुले नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौता गरी एआईबीटी प्रकरणमा लागेको दागलाई मेटाउन प्रयत्न पनि गरे।
नेपाललगायत विश्वबाट विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययन गर्नका लागि बोलाएर अर्बौं रकम थुपारेका एक्स्पर्ट सञ्चालकले पछिल्ला चरणमा भने नेपालका नदिनालामा हाइड्रो पावरका नाममा मोटो लगानी गरेका छन्।
यो पनि पढ्नुहोस्
एक्स्पर्ट एजुकेशन सञ्चालक विद्यार्थीलाई पार्छन् परिबन्ध, शक्ति केन्द्रसँग अन्तरङ्ग सम्बन्ध
सानी भेरी हाइड्रोमा अर्थमन्त्री शर्माको लगानी, उर्जामन्त्री हुँदा लाइसेन्स दिएवापत ठूलो शेयर

