व्यक्तिगत प्यान नम्बर लिनु र नलिनुमा के फरक छ ?


काठमाडाैं – नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN) लिने क्रम निकै बढेको छ ।

सरकारले १ हजार रुपैयाँभन्दा बढी रकमको भुक्तानी बैंकमार्फत गर्नुपर्ने र रोजगारीबाट पारिश्रमिक लिने व्यक्तिले अनिवार्य रुपमा प्यान लिनुपर्ने नीति लिएको छ । यससँगै बजारमा प्यान कार्ड लिनेबारेमा अनेक किसिमका जिज्ञासा र अफवाह चलेको पाइन्छ ।

व्यक्तिगत प्यान कार्ड किन लिन पर्छ ? यो करदाताले सबैभन्दा बढी सोध्ने प्रश्न हो । स्थायी लेखा नम्बर लिएपछि के फाईदा वा बेफाईदा हुन्छ ? भन्ने ढंगले आउने प्रश्नहरुको जवाफ खोजौं ।

व्यक्तिगत प्यान लिएपछि कुनै विशेष सुविधा वा सहुलियत पाइँदैन । प्यान लिनु र नलिनुमा के फरक छ ? उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ ।

तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन।

कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।

प्रतिक्रिया