

‘गुण्डा’हरुको नियन्त्रणमा पाटन क्याम्पस, त्रास र भयमा शिक्षालय

काठमाडौं – समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका विद्यार्थीहरुले परीक्षा केन्द्र पाटन गुण्डाहरुको नियन्त्रणमा रहेको भन्दै परीक्षा दिन नसक्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट वक्तव्य जारी गर्दै विद्यार्थीहरुले ‘पाटन क्याम्पसको परीक्षा केन्द्र नै सम्पूर्ण रुपमा गुण्डाहरुको नियन्त्रणमा रहेकाले हामी यथास्थितिमा सोही क्याम्पसमा परीक्षा दिन असमर्थ रहेको जानकारी गराउन चाहन्छौं’ भनेका छन् ।
विद्यार्थीहरुका अनुसार प्रदर्शनस्थलमै अनाधिकृत व्यक्तिहरु प्रवेश गरी सार्वजनिक रुपमा धम्की दिएको, परीक्षा अवधिभरी पटकपटक गुण्डागर्दी शैलीमा अनधिकृत व्यक्तिहरुले परीक्षा स्थलमा प्रवेश गरी विद्यार्थीमाथि अत्यन्तै स्तरहिन गालिगलौज र आपराधिक धम्की दिएका थिए ।
विद्यार्थीहरुले वक्तव्यमा भनेका छन् ‘त्रास र भयको वातावरणमा हामीले शिक्षालयभित्रै बिताएको तीन घन्टा अत्यन्तै सकसपूर्ण र आतंकमय रहन पुग्यो, परीक्षा हलबाट पनि सामुहिक रुपमा हामीले बल्लतल्ल आफ्नो भौतिक सुरक्षा गरि बाहिरिएका छौँ ।’
त्रिविले काठमाडौं उपत्यका र काभ्रेसमेत गरि समाजशास्त्रका ९ सय विद्यार्थीको लागि पाटन क्याम्पस परीक्षा केन्द्र तोकेको छ । केन्द्रमा एउटै कक्षामा ६० जना हाराहारी विद्यार्थी राखेर बिना कुनै स्वास्थ्य मापदण्ड विद्यार्थीको स्वास्थ्य तथा जीवनमाथी नै अमानवीय ज्यादती गरेको आरोप लगाएका छन् ।
साथै परीक्षा बारे प्रत्यक्ष रुपमा जिम्मेवारी लिनुपर्ने त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाज विज्ञानका डिन, समाजशास्त्र केन्द्रीय विभाग र त्यसका विभागीय प्रमुख साथै पाटन क्याम्पसका क्याम्पस प्रमुखको भुमिकाप्रति आपत्ति व्यक्त गरेका छन् । त्रिविले अहिले वार्षिक प्रणाली तथा सेमेष्टर प्रणाली अन्तर्गतका परीक्षा संचालन गरिरहेको छ ।
त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले तय गरेको मापदण्डसमेत पालना नगरी अत्यन्त गैह्रजिम्मेवार ढंगले भौतिक उपस्थितिमा लापरबाहीपूर्ण तरिकाले स्नातकोत्तरका परीक्षाहरु संचालन गरिरहेको भन्दै विद्यार्थीले होम सेन्टर सम्बन्धित क्याम्पस र विश्वविद्यालयमै कायम गर्नुपर्ने, भौतिक दुरी सुनिश्चित गरेर परीक्षा गर्नुपर्ने, कोभिडका कारण परीक्षा दिन असमर्थ भएका विद्यार्थीलाई सिधै फेल नगराइ वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्दै आएका सोमबार परीक्षा केन्द्रमा प्रदर्शन गरेका थिए ।

