

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित, कर्मचारीमा सकारात्मक उत्प्रेरणा जगाउने प्रयास
प्रहरी प्राेत्साहन, दाेषी निरूत्साहन कार्यक्रम

काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवं सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएकाे छ ।
‘प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एवम् निर्देशन दिँदै आएका छौँ, फलस्वरूप घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवम् सम्मान गरेका हाैँ’ , महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेबाट पैसा लिन्छ भन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे । ‘त्यस्ता खराब प्रवृत्ति बोकेका, घुस दिन खोज्ने चालकलाई दैनिकजसो पक्राउ गर्दै आएका छाैँ । त्यस्ता चालकलाई कुनै पनि बहानामा छुट हुँदैन, बरु यसलाई अझै कडाइका साथ लैजान्छाैँ’, उनले भने ।
सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घनपछि हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।

