युवा संघ केन्द्रीय सदस्य लामाविरुद्ध ‘ट्रयाप’मा पारी बलात्कार गरेको उजुरी

जेलबाट निस्किएको धेरै भएको थिएन


काठमाडौं– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य डेनी लामा उर्फ टेन्सनविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा एक युवतीले बलात्कारको उजुरी दर्ता गरेकी छन्।

काभ्रे तेमाल गाउँपालिका–६ स्थित ठूलोपर्सेलका लामाले एक महिलालाई ‘ट्रयाप’मा पारेर बलात्कार गरेको खुलेको हो। उजुरीकर्ताले लामाले बलात्कार गरी गरगहना, लत्ताकपडा र लाखौं रकम बोकेर फरार भएको उल्लेख गरेकी छन्।

तीन वर्ष अगाडि सार्वजनिक कार्यक्रममा भेट भएकी महिलालाई लामाले बलात्कार गरेको उजुरी आएको प्रहरीले जनाएको छ। लामाले आफ्नो घरमा ‘फेमिली डिनर’ कार्यक्रम भनेर झुक्काएर कोठामा लगी बलात्कार गरेको पीडित भनिएकी युवतीको दाबी छ।

‘मलाई मध्यरातमा झुक्याएर कोठामा लग्यो, कोठामा जान्छु भन्दा पनि जान दिएनन्, बरु म श्रीमती बनाउँछु म सुध्रिन्छु भन्दै मलाई जबर्जस्ती रुपमा बलात्कार गरे’, युवती भन्छिन्।

सोही बेला उजुरी दिन लागे पनि आफू भर्खरै जेलबाट छुटेका कारण सुध्रेर बढ्ने भनी ललाई फकाई त्यसबेला कानुनी कारबाही रोक्न लगाएको पनि युवतीको दाबी छ।

‘श्रीमतीको रुपमा स्वीकार गर्छु । म भर्खरै जेलबाट छुटेको हुँ, फेरि म जेल गयो भने मेरो बदनाम हुन्छ, तिमी मेरो श्रीमती हो, म अब सुध्रिन्छु भनेपछि मैले उजुरी गरेको थिइँन तर धोका पाएपछि बलात्कारपीडित भएर बस्न सकिँन’, उनले सुनाइन्,‘एक बर्ष त बसियो तर मलाई जसरी अरुलाई पनि फँसाएको रहेछ।’

एक बर्ष सँगै बसेपछि किन बलात्कारको उजुरी दिइन् त?

यसक्रममा युवतीको जवाफ छ,‘सम्बन्ध बलात्कारजस्तो घृणित कुकर्मबाट सुरु भएको हो, छोरी मान्छेको जात हो एकदिन पराइ घर जानैपर्छ भनेर मैले उनलाई श्रीमानको रुपमा स्वीकार गरेको थिएँ।’

उनी अगाडि जोड्छिन्,‘मेरो जिन्दगी त बर्बाद बनायो बनायो अरु मजस्तो गाउँको सोझी नारीहरु यस्ताको शिकार नहोस् भनेर मैले जबर्जस्तरी करणीमा उजुरी दिएको हुँ।’

फरार लामा केही वर्ष अगाडि मात्रै हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरेर बाहिर निस्केका व्यक्ति हुन्।

प्रतिक्रिया