

दोस्रो टी-ट्वान्टी क्रिकेटः अस्ट्रेलिया ५ विकेटले पराजित

काठमाडाैं – दोस्रो टी-ट्वान्टी क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । ढाकामा भएको खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई ५ विकेटले हराएको हो ।
अस्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बङ्गलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टायो । बङ्गलादेशको जितमा आफिफ होसेनले ३७, नुरुल होसेनले २२, शकिब अल हसनले २६ र मेहदी हसनले २३ रन बनाए।
अस्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० र मिचेल स्टार्कले अविजित रहँदै १३ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ तथा शोरिफुल इस्लामले २ विकेट लिए । जितसँगै बङ्गलादेशले अस्ट्रेलियासँगको पाँच खेलको श्रृङ्खलामा २-० को अग्रता बनाएको छ ।
पहिलो खेलमा पनि अस्ट्रेलिया बङ्गलादेशसँग पराजित भएको थियो । पहिलो खेलमा बङ्गलादेशले अस्ट्रेलियालाई २३ रनले हराएको थियो।

