

नेपाल प्रहरीमा ४ एसएसपी रिक्त, आकांक्षीहरू ‘थ्रीपी’ शैलीमा सक्रिय!

काठमाडौं– नेपाल प्रहरीमा वैशाखयता तीन जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)ले अवकाश पाइसकेका छन्। एसएसपीको ५५ बर्षे उमेर हदका कारण दिलिप चौधरी, देवबहादुर बोगटी र किशोरकुमार दाहालले अवकाश पाएका हुन्। तीनै जना एसएसपी प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षत्रीका ‘ब्याची’ हुन्।
सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएपछि थप एउटा एसएसपी पद रिक्त भयो।
डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी प्रधान कार्यालयले एसएसपीमा बढुवा सिफारिस गर्नुपर्छ।
आगामी २० साउनदेखि एसएसपी मुकेशकुमार सिंहले पनि अवकाश पाउँदैछन्। अवकाश हुनुभन्दा एक साताअघि बढुवा समितिले अवकास हुनेबाहेकलाई बढुवा सिफारिस गर्न सक्छ। रिक्त हुने एक पदसहित पाँच जना एसएसपीमा बढुवा हुँदैछन्।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रहरी संगठन निरिह भएको कारण बढुवा प्रक्रिया अन्यौलमा पर्ने गरेको छ। गृह मन्त्रालयले एसपी बढुवाको तयारी गर्न निर्देशन दिए पनि आईजी क्षत्रीले आलटाल गर्दै आइरहेको चर्चा छ। आईजीकै ब्याचीहरु अवकाश भएर गएको ३–३ महिना बित्दासमेत रिक्त पदपूर्ति हुन सकेको छैन।
योग्यता पुगेका प्रहरी अधिकृतहरुको नामावली सिफारिस गर्न नसकेको आरोप आईजी क्षत्रीमाथि लागेको छ। रिक्त पद कम र आकांक्षी धेरै भएका कारण बढुवा समितिको बैठक बस्न नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार केही प्रतिस्पर्धी एसपीहरु बिदा बसेरै विभिन्न राजनीतिक दलका नेता तथा शक्ति केन्द्रमार्फत बढुवाको लागि दबाब दिन थालेपछि क्षत्री तत्काल प्रक्रिया अगाडि बढाउने पक्षमा छैनन्। केही समयपछि मात्रै बढुवा प्रक्रिया अघि बढ्ने प्रधान कार्यालयले जनायो।
पाँच एसएसपीको लागि प्रतिस्पर्धामा को–को?
काँधमा एसएसपीको ‘फूली’ लाउन पाउने आकांक्षामा सिनियर ब्याचका एसपीदेखि जुनियर ब्याचका एसपीहरु पनि छन्। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले पदपूर्ति गर्ने तयारी गरेता पनि प्रतिस्पर्धी एसपीहरुको अनावश्यक दबाबको कारण बढुवा निकाल्न हम्मे हम्मे परेको स्रोतको दाबी छ।
सिनियर ब्याचका एसपीहरु नै पाँच जना छन्। जस मध्ये २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसपी विकासराज खनाल एसएसपीको प्रतिस्पर्धी हुन्। खनालको ब्याचीहरु प्रायः एसएसपी भइसकेको अवस्थामा सम्भवतः उनको बढुवा हुने चर्चा संगठनभित्र छ।
त्यस्तै ध्रुबराज राउत, भोला रावल, अनुरागकुमार द्विवेदी पनि एसएसपीको आकांक्षी हुन्।
त्यस्तै ११० ब्याचका योगबहादुर पाल, टिकाबहादुर केसी र राजेन्द्र खड्का पनि एसएसपीका प्रतिस्पर्धी हुन्। प्रतिस्पर्धी पाल, खड्का र केसी गुप्तचर (राष्ट्रिय अनुसन्धान विभाग)बाट नेपाल प्रहरीमा आएका थिए।
यस्तै ०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन्। यद्यपि सिनियर ब्याचीहरु रहँदारहँदै उनीहरुलाई बढुवा गर्न नहुने गृह मन्त्रालय बताइरहँदा आईजी क्षत्रीले आफ्ना नजिकका केही मान्छेहरुलाई बढुवा गर्नुपर्ने भन्दै दबाब दिएको स्रोतले बतायो।
पछिल्लो ब्याचबाट सिद्धिविक्रम शाह, जीवनकुमार श्रेष्ठ, दानबहादुर कार्की, ईश्वर कार्की, सुशीलसिंह राठौर र ओम रानालगायतका अधिकृत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्।
यस्तै पछिल्लो ब्याचबाट रमेश थापा पनि एसएसपीको लागि लबिङ गरिरहेका छन।
प्रहरी नियमावली २०७१ मा एसएसपी बढुवाको लागि गृह सचिव अध्यक्ष, आईजी सदस्य र आईजीले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यसचिव रहने व्यवस्था छ।
सत्तारुढ निकट रहेका प्रहरी अधिकारीहरु बढुवाका लागि खुलेरै ‘थ्री पी’ अर्थात पार्टी, पावर र पैसाको चलखेल गरिरहेका छन्। यसले बढुवालाई असर पार्न सक्ने देखिन्छ। भविष्यको प्रहरी महानिरीक्षक मार्गनिर्देश गर्ने भएकाले समेत यो बढुवामा अगाडि आउन एसपीहरुको चलखेल बढाएका छन्।

