

ईजाजतबिना उपचारमा संलग्न भारतीयसहित तीन पक्राउ

काठमाडौं – ईजाजत बिना उपचारमा संलग्न भारतीय नागरीक नागरिक पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका, वडा नं ७, चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होम प्रा. लि. मा चिकित्सा सम्बन्धी पेशा गर्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट ईजाजत पत्र प्राप्त नगरेका भारतीय नागरीक सौरभ कुमार पक्राउ परेका हुन् ।
सौरभ बिरामीको चेकजाँच गर्ने,चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको पाई्एसँगै सत्य तथ्य बुझ्न नेपाल मेडिकल काउन्सिलको टोली खटिएको थियो ।
उक्त टोलिले स्थलगत रुपमा बुझ्दा भारतीय नागरीक सौरभ कुमारले ईजाजत पत्र विना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा ईलाज गरी रहेको अवस्थामा फेला परेको र सो कार्य गर्न सहजीकरण गर्ने उक्त प्रा.लि. का सञ्चालक राधा कृष्ण तामाङ , डा. रावेत रञ्जन कुमार ठाकुर र सौरभ कुमारलाई ऐन मौकामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भईरहेको प्रहरीप्रधान कार्यालयले जनाएको छ ।

