

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

काठमाडौं – बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।
खोप सुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए। नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ।
त्यसै गरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असीमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए ।
थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडा वडामा खोप केन्द्र राखिएको उनले जानकारी दिए । यसअघि यहाँ दुई वटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रवार देखी आठ वटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।

