निर्मल निवासमा बास पाएपछि किन उदण्ड बन्छन् पूर्वयुवराज पारस शाह


काठमाडौं– पूर्वयुवराज पारस शाह विभिन्न लफडाको कारण विवादमा आइरहन्छन्। अनेकन अराजक क्रियाकलापसँग जोडिएका पारसले युवराज हुनु अघिदेखि नै नसालु पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, आम मानिसमाथि मारपिटदेखि फायरिङसम्ममा घटना गराउँदै आएका छन्।

पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाह थाइल्यान्डमा पुगेपछि पारसले हालै मात्र निर्मल निवासमा प्रवेश पाएका थिए। तर जब उनी निर्मल निवासमा छिर्छन् उनको उदण्डताले सीमा नाघ्ने गरेको छ।

गायक प्रविण गुरुङ मृत्यु प्रकरणदेखि विवादमा तानिने पारस विदेशमा समेत लागूपदार्थ सेवनको आरोपमा जेलमा बस्नु परेको थियो। उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा हर्कत देखाउन छाडेका छैनन्।

विगतमा धमिलिएको छवि सुधार्न धार्मिक वा सामाजिक कार्यमा सहभागी भएर जनताको नजिक हुने प्रयासमा लागेका पारसले शुक्रबार राति अर्को काण्ड मच्चाएपछि अहिले विवाद र चर्चामा छन्। सार्वजनिकस्थलमै पारसले बर्दीधारी ट्राफिक प्रहरीमाथि अशोभनीय व्यवाहार देखाएका थिए।

आचारसंहिता अनुसार ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउन सक्छ। तर, पारसलाई नेपाल प्रहरीले त्यत्तिकै छोडेको छ। विगतमा दर्जनौँ कानुनविपरितका काममा मुछिए पनि पारसले राजपरिवारको सदस्य भएकै कारण अहिले उन्मुक्ति पाउने गरेका छन्। यो शिलशीला पछिसम्म कायम रहेको पाइएको छ।

ड्यूटीमा रहेका प्रहरीसँग विवाद गरेको भिडिओे सार्वजनिक भएपछि अनेकन टिकाटिप्पणी भइरहेको छ। हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले नियन्त्रणमा लिँदा गालीगलौज गरेको भिडिओे सार्वजनिक भएको छ।

भिडिओेमा प्रहरीले पारसको हात समातेर कन्ट्रोलरमा फोन गर्दै गाडी मगाएका छन्। ती प्रहरीले पारसले रक्सी खाएर लफडा गरेको भन्दै उनलाई पक्राउ गर्न गाडी चाहिएको भनेको भिडिओेमा सुनिन्छ। तर पारसले आफू कहीँ नजाने त्यहीँ बस्ने भनेर प्रहरीलाई धम्की समेत दिएका छन्।

साथै आफूले कहिल्यै हेलमेट नलगाउने भन्दै पक्राउ गर्न नसक्ने चेतावनी दिएको भिडिओेमा सुनिन्छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका पारसलाई ट्राफिक प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि जाइलागेका थिए। वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेलमेट बेगरै निर्मल निवासतिर हुँइकिएका थिए।

पछि सम्झाबुझाई गरेर पारसलाई छाडिएको प्रहरीको भनाइ छ। जिब्रो लरबरिएको आवाजमा उनले प्रहरीलाई ‘तँ’ समेत भनेका छन्।

पारसको व्यवहारलाई लिएर धेरैले आलोचना गरिरहेको बेला यस विषयमा पारसकी छोरी कीर्तिका शाहका नामबाट चलाइएको एउट ट्वीटर ह्यान्डलबाट शनिबार साँझ ट्वीट गर्दै प्रहरीले आफ्नो बाबुमाथि दुर्व्यवहार गरेको’ सार्वजनिक भएको छ।

त्यहाँ लेखिएको छ,‘हेलमेट छुटेको विषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरी आफ्नो ड्युटी गर्नुपर्नेमा अपमानजनक व्यवहार गरेको छ।’ प्रहरीमाथि दुर्व्यवहार गर्ने पारसको उदण्डताले राजपरिवार हैरानीमा परेको छ।

पारसले हार्ली डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दावी गरेका छन्। आफूले चलाउने पारस शाह ज्याक नामक फेसबुक ह्यान्डलमा शनिबार एक स्ट्याटस पोष्ट गर्दै शाहले लेखेका छन्, ‘यो मेरो जीवन हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेलमेट लगाउँदैनन्।’ पारसले हार्ली चलाउँदा अमेरिकामा कसैले हेलमेट लगाउँदैनन् भनेर दावी गर्न खोजे पनि त्यो सही भने होइन।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा निर्क चर्चा परिचर्चा भइरहेको छ। नकारात्मक र सकारात्मक दुवै कमेन्टहरु आइरहेका छन्। यता, समर्थकहरुले पारसमाथि प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शन गरेका छन्। पारसको पक्षमा र्याली निकाल्दै समर्थकहरुले काठमाडौंको महाराजगञ्जमा राजा आउ देश बचाउ भन्दै नाराजुलुस गरेका थिए।

यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुरअनुसार कारबाही पनि हुन्थ्यो।

पारस उदण्डताको शृंखला 

युवराज हुँदा उनले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रवीण गुरुङको २२ साउन २०५७ को मध्यराति काठमाडौंमा मृत्यु भएको थियो।

राजदरबारमा कार्यरत तत्कालीन सैनिक सचिव विवेक शाहले ‘मैले देखेको राजदरबार’ नामक आफ्नो पुस्तकमा सो हत्याको घटनालाई ढाकछोप गर्न नक्कली ड्राइभर खडा गरिएको १० वर्षपछि खुलासा गरेका थिए। पूर्वसैनिक सचिव शाहले लेखेको पुस्तकको १ सय ५० पृष्ठमा भनिएको छ, ‘विवाद साम्य पार्न खड्गबहादुर भुजेल नामको ड्राइभर भेट्टाइएको छ। भुजेललाई प्रहरीसमक्ष आत्मसमर्पण गराउने तय भयो।’

सो रात होटल याक एण्ड यतिबाट निस्किएको गाडीले नारायणहिटीको उत्तरी गेट अघिल्तिर एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।

३० डिसेम्बर १९७१ मा जन्मेका पारस नेपालको युवराज सन् २००१ मा बनेका थिए। उनी २००८ सम्म राजतन्त्र उन्मुलन नभएसम्म युवराज थिए।

विमानस्थलमा प्रहरीमाथि हातपात

२ वर्षअघि सार्वजनिक स्थलमै पारसले बर्दीधारी प्रहरीमाथि हातपात गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीमाथि पारसले हातपात गरेका थिए।

त्यतिबेला सई खत्रीले पारसका छोरा र भान्जालाई चेकजाँच गर्न खोजेपछि पारसले हातपात गरेको बताइएको छ। आफ्ना छोरा र भाञ्जालाई प्रहरीले अपमान गरेको भन्दै उनले सो समयमा प्रहरीमाथि दुव्र्यवहार गरेका थिए।

त्यतिबेलाको भिडिओे पनि सार्वजनिक भएको थियो। आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडिओे देखिन्छ। भिडिओेमा देखिएको दृश्य हेर्दा पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ।

प्रहरीमाथि हातपात गरेपछि सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्ने पारसलाई कारबाही माग गरियो। प्रहरीले समेत छानबिन गर्ने बतायो। मिडियामा प्रहरी नेतृत्वको नै चर्को आलोचना भएपछि तत्कालीन महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षत्रीले घटनाको छानबिन प्रक्रिया अघि बढेको बताएका थिए।

हाल क्षेत्री प्रहरी महानिरीक्षक (आईजी) छन्। पछि पारसको घटनाबारे थापासँग बुझ्दा छानबिन भइरहेको भन्दै टार्दै आए। पारसले विमानस्थलमा देखाएको उदण्डता त्यतिकै सेलायो। यसरी बुझ्न सकिन्छ कि पारसको घटनामा प्रहरी डराएको हो।

ड्युटीमा खटिएका प्रहरीमाथि अशोभनिय व्यवाहार हुँदासम्म कुनै कारबाही भएन। त्यहीँ विमानस्थलमा प्रहरीले देखाएको व्यवहारलाई लिएर गायिका आस्था राउतले कारवाही भोग्नुपर्यो। पारसविरुद्ध उजुरी दिने कसैको आँट गरेन भने गायिका राउतविरुद्ध उजुरी पर्यो। राउत कारबाहीको भागीदार हुँदा पारसलाई पुरस्कृत गरियो।

चितवन गोली काण्ड

११ डिसेम्बर २०१० का दिन पारस तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाईँ रुबेल चौधरीसँग भनाभन भएपछि गोली हान्ने प्रयास गरेको भनेर विवादमा आए।

चितवनको एक होटलमा विवाद भएपछि पारसले पेस्तोल ताके। त्यसलगत्तै उनलाई त्यहाँबाट पोखरा पुगेको बेलामा प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेपछि प्रहरीले उनलाई आफ्नो परिवारका सदस्यको अपमान गरिएका कारण आक्रोशमा पेस्तोलबाट हवाई फायर भएको जनाएका थिए। सुजाताका ज्वाईँ बंगलादेशी नागरिक रुबेल चौधरीलेचाहिँ आफूलाई पारसले मार्न खोजेको आरोप लगाएका थिए।

गोली चलाएर पोखरा पुगेका उनलाई स्थानीय फूलबारी रिसोर्टबाट पक्राउ गरेर सार्वजनिक स्थानमा हतियार प्रयोग गरेको मुद्दा चलाइएको थियो। तर, उनी केही दिनमै छुटेका थिए।

तीव्र गतिमा सवारी

त्यतिमात्र होइन, विमानस्थलमा प्रहरीमाथि हातपात गरेको केही दिनअघि मात्रै उनले तीव्र गतिमा चलाएको गाडी ट्राफिक प्रहरीले रोक्न खोज्दा पनि नरोकि दौडाएपछि थापाथलीमा प्रहरीले समातेको थियो। जावलाखेल चोकमा तीव्र गतिमा रहेको बा१४प २१३१ नम्बरको उनको गाडी अनियन्त्रित तरिकाले चलेको पाइएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो।

त्यहाँबाट प्रहरीले बीचमा रोक्ने प्रयास गरेको भए पनि थापाथली चोकमा रहेको ट्राफिक जाममा परेपछि उनलाई पाँच सय रुपैयाँ जरिवाना तिराइएको थियो।

थाइल्यान्डमा पटक–पटक पक्राउ

नेपालमा राजतन्त्रको अन्त्य भएपछि उनी थाइल्याण्ड गएका थिए। त्यहाँ लागूऔषध सेवनको कारण चार पटकसम्म पक्राउ परे। उनी पक्राउ परेपछि त्यहाँ हत्कडी लगाएको अवस्थामा थाइ सञ्चार माध्यममा तस्बिर समेत छापिएको थियो।

हत्कडीसहितको तस्बीर प्रकाशित हुँदा पनि धेरैलाई पारस शाहको यस्तो हालतबारे पत्यार लागेन। कतिपयले त यो पारसको तस्बीरै होइन भन्ने दाबीसमेत गरे। झट्ट हेर्दा अफ्रिकातिरको जस्तो देखिने पारसको सकलले धेरैलाई झुक्यायो, के उनी पारस नै हुन् त? तर, वास्तविकता कसैले नस्वीकारे पनि वास्तविकता नै थियो।

उनी पहिलोपटक जुलाई २०१४ मा थाइल्याण्डमा लागूऔषधसहित पक्राउ परेका थिए। त्यतिबेला उनलाई छुटाउनका लागि पूर्वयुवराज्ञी हिमानी थाइल्याण्ड गएका थिए। उनको मानसिक अवस्था नै बिग्रेका कारण केही समय स्थानीय सुधार गृहमा पनि राखिएको थियो।

उनी थाइल्याण्डमै रहेको बेलामा कन्निका चियार्सन नामकी एक युवतीसँग प्रेममा परेको चर्चा समेत भएको थियो। उनले सामाजिक सञ्जालमा पारससँगको अन्तरंग तस्बिर सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो।

प्रतिक्रिया