

‘हिल ट्याङ्क’ भित्र विनोद लिम्बुको शव फेला, घरमा एक्लै बस्थे

काठमाडौं – सुनसरीको धरान–५ तल्लो देउरालीस्थित सुन्दर बस्तीमा एक पुरुषको शव हिल ट्याङ्कभित्र भेटिएको छ। बुधबार साँझ स्थानीय ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर भित्र रहेको हिल ट्याङ्क भित्र फेला परेको हो।
लिम्बुलाई हत्या गरी शव लुकाउने उद्देश्यका साथ ५ सय लिटरको हिल ट्याङ्कभित्र राखेर हत्यारा फरार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतकको घाटी रेटिएको, हात र शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार भएको देखिन्छ।
घटना अनुसन्धानको लागि अहिले संघीय प्रहरी इकाई कार्यालय धरान, १ नम्बर प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले हत्या गरी शव हिल ट्याङ्कमा लुकाएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको जानकारी दिए।
‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सीक टोलीले घटनास्थलको अनुसन्धान गरी शव पोस्टमार्टमको लागि पठाइएको छ’ उनले भने ‘घटनास्थलमा ट्रयाकर डग ‘पिकु’ समेत प्रयोग गरेका छौं।’
मृतक इजरायलबाट फर्केपछि धरान ५ तल्लो देउराली स्थित सुन्दर बस्तीमा घर बनाएर तरकारी खेती गर्दै आएका थिए। मृतकको पत्नी भने हाल इजरायलमा नै रहेको पाइएको छ। लिम्बु एक्लै घरमा बस्दै आएका थिए।

