कासमू सम्झौता: एआईजीमा हरि पाल उत्कृष्ट


काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन मूल्याङकनको नजिता सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्रधान कार्यालयले प्रहरी महानिरक्षिक (एआईजी)देखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) सम्मको नम्बर सार्वजनिक गरेको हो।

प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका थिए। उनले एक सय पूर्णाङकमा ९०.५ नम्बर ल्याएका छन्।

त्यस्तै एआईजीहरुमध्ये हरि पाल उत्कृष्ट भएका छन्। उनको नेतृत्वमा महानगरीय प्रहरी कार्यालयले ९५.८९ प्रतिशत ल्याएको छ।

मानव स्रोत तथा प्रशासन विभागका एआइजी निरज बहादुर शाहीले ६७.११, कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेलले ६६.५२, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी प्रद्युम्न कार्कीले ६६.७९ तथा प्रहरी अस्पतालकी डा.आशा सिंहले ७९.१७ नम्बर ल्याएकी छिन्।

सात प्रदेशमध्ये बाग्मती प्रदेशका डिआईजी उत्कृष्ट भएका छन्। बागमतीतीका तत्कालिन डिआईजी वसन्त लामाले ९७.०३ नम्बर ल्याएका छन्। हालै उनको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।

त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेश, तेस्रोमा गण्डकी, चौथोमा प्रदेश नम्बर १, पाँचौमा प्रदेश नम्बर २, छैठौंमा सुदुरपश्चिम तथा सातौंमा कर्णाली प्रदेशका डिआईजी भएका छन् ।

लुम्बिनीले ९६.५६, गण्डकीले ९६.०३, प्रदेश नम्बर १ ले ९५.९०, प्रदेश नम्बर २ ले ९५.७४, सुदुरपश्चिम प्रदेशले ९५.२१ र कर्णाली प्रदेशले ९४.९६ नम्बर ल्याएको छ।

त्यस्तै दोस्रो हुने लुम्बिनीमा डिआइजी रवीन्द्र धानकु, तेस्रो हुने गण्डकीमा घनश्याम अर्याल, चौथो हुने प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, पाँचौ हुने प्रदेश नम्बर २ मा धीरजप्रताप सिंह, छैठौं हुने सुदुरपश्चिममा उत्तम सुवेदी तथा सातौं हुने कर्णालीमा बसन्त पन्त थिए।

सबै इन्चार्जहरुसँग कार्यसम्पादन मूल्याङकन सम्झौता भइसकेको छ। तर, उत्कृष्ट हुनेहरुलाई पुरस्कृत भने गरिएको छैन।

प्रतिक्रिया