मन्त्रालय भागबन्डाका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै, शुक्रबार मन्त्रीपरिषद् विस्तार हुने


काठमाडौं – मन्त्रीपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयलाई लिएर सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय बाडफाँडमा शीर्ष नेताहरुले सहमति जुटाउने तयारी गरेका छन् । यसअघि बुधबार भएको बैठकले मन्त्रालय बाडफाँडको जिम्मा टुंग्याउन शीर्ष नेतालाई दिने निर्णय भएको थियो ।

बैठकमा गठबन्धनको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफलको तयारी भएको छ । आजको बैठकले मन्त्रालय बाडफाँड टुंग्याए शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ । तर एमालेको नेपाल समूह र जनमोर्चा तत्काल सरकारमा नजाने भएपछि देउवा नेतृत्वको यो सरकारमा कांग्रेस, माओवादी र जसपा मात्रै हुने भएको छ ।

प्रतिक्रिया