

राजश्व छली गरि ल्याइएकाे सामानको ट्रकसहित बल्खुबाट दुई जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौं आएको ना.४ ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चालक बारा घर भएका सञ्जय रायभर र सामानका धनी पर्सा घर भएका कृष्ण श्रीवास्तवलाई पक्राउ गरेको छ । ट्रकमा भएको प्लाष्टिक बनाउन प्रयोग हुने कच्चा पदार्थ, ब्याग बनाउन प्रयोग हुने कपडा र २ लाख बराबरको कृष्ण टेक्स्टाइल लेखिएको साटन कपडा बरामद गरिएको छ ।
सामानसहित भन्सार छलीमा संलग्न आरोपीहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी बस्नेतले बताए । भन्सार छली गरेर ल्याएको सामान बल्खुस्थित कुमारी क्लबमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

