

१५ बैंकको सिष्टम ह्याक गर्ने धम्कीमा अमेरिकी नम्बर प्रयोग

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीको घटनालाई लिएर अनुसन्धान थालेको छ।
साइबर ब्यूरोका एक प्रहरी अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकको आग्रहमा साइबर ब्यूरोले शुक्रबारदेखि नै अनुसन्धान अगाडि बढाएको छ। ह्याकरले बैंकहरु ह्याक गर्ने धम्कीसहित नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाई फोन गरेको थियो।
शुक्रबार नेपाल राष्ट्र बैंकले प्रहरीको अनुसन्धान साइबर ब्यूरोलाई अनुसन्धानका लागि औपचारिक रुपमा आग्रह गरेपछि राष्ट्र बैंक र साइबर ब्यूरोको संयुक्त अनुसन्धान टोली परिचालन गरी अनुसन्धान सुरु भएको छ।
‘हामीले यस विषयमा राष्ट्र बैंकको पत्र पाउनेबित्तिकै अनुसन्धान सुरु गरेका छौं,’ ब्यूरोका प्रवक्ता नवीन्द्र अर्यालले भने, ‘अनुसन्धान प्रक्रिया अगाडि बढिसेको अवस्था छ।’
ह्याकरले ह्याकिङको धम्कीसहित फोन र इमेल आएपछि राष्ट्र बैंकले अध्ययन सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा बैंकका कर्मचारीलाई फोन गर्न ह्याकरले अमेरिकी नम्बर प्रयोग गरेको देखिएको छ।
राष्ट्र बैंकले फोन आएको नम्बर र इमेल आईडीसहित अनुसन्धानका लागि साइबर ब्यूरोलाई आवश्यक कागजातहरु पेश गरेको छ। ह्याक गर्ने धम्कीपछि बैंकहरु आफ्नो आईटीलाई स्ट्यान्डबाई राखेका छन्। तर, अहिलेसम्म कसैले पनि ह्याक गर्ने प्रयास भने गरेको छैन।

