


नेपाल ग्यासको डरलाग्दो लापरवाहीः रानीवनमा यसरी टर्यो एउटा ठूलो दुर्घटना (भिडिओसहित)

काठमाडौं – खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै त्यो पड्किने वा आगलागी हुने घटना समेत बढ्दै गएको छ। बुधबार नागार्जुन नगरपालिका राधाकृष्ण मन्दीर, रानीवननजिकै एक घरमा ग्यास कम्पनीकै कमजोरीका कराण सिलिण्डरबाट आगलागी भयो।
आगलागी नेपाल ग्यासको सिलिण्डरबाट भएको हो। ग्यास कम्पनीको कमजोरीले सिलिण्डरबाट आगलागी भए पनि ठूलो दुर्घटना हुनबाट जोगियो। आगलागीको कारण सिलिण्डरको मुखमा ‘वासर’ नै नभएको खुलेको छ। घटनास्थल पुगेका स्थानीयहरुका अनुसार सुरुमै सिलिण्डरको मुखमा वासर थिएन।
तर, सिलिन्डरमा सेफ्टी क्याप चाहिँ थियो।
रानीवनस्थित बिमला न्यौपानेको घरमा भाडामा बस्दै आएकी धादिङकी निकिता सिंखडाले कोठामा ग्यास सकिएपछि नजिकैको ग्यास पसलबाट नयाँ सिलिण्डर किनेर ल्याइन्। चुल्होमा जोड्नको लागि सिलिन्डरमा भएको सेफ्टी क्याप खोलिन्।
घर ल्याएर नयाँ सिलिण्डर रेगुलेटरमा जोडेर खाजा बनाउन खोज्दा एक्कासी आगो सल्किएको पीडित सिंखडा बताउँछिन्। ‘एकैछिनमा कोठा धुँवाको मुस्लोले भरियो,’ उनले भनिन्, ‘अनि पल्लो कोठामा बस्ने बहिनीलाई बोलाएर आगो कसरी निभाउने भनेर आत्तिँदै सोधें।’
त्यसपछि नजिकै रहेको जुटको बोराले सिलिण्डरको मुख छोपेपछि आगो नियन्त्रणमा आएको उनले सुनाइन्। ‘यसअघि भिडियोमा जुटको बोराले आगो निभाएको देखेको थिएँ, सोही अनुरुप प्रयास गर्दा सफल भयौं,’ उनले भनिन्।
आगो नियन्त्रणमा आएपछि मात्रै थाहा भएको हो– सिलिण्डरमा त वासर नै रहेनछ। उनले भनिन्, ‘सुरुमा त रेगुलेटर बिग्रिएर यस्तो भएको होला भन्ठाने। तर होइन रहेछ, सिलिण्डरमा हुने गरेको वासर नै रहेनछ।’
आगो नियन्त्रणको लागि प्रहरी पनि घटनास्थल पुगेको थियो। घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक (असई) कुमार भट्टका अनुसार घटनास्थलमा पुग्दा स्थानीयहरु मिलेर एकआपसमा पानी छकिँदै आगो नियन्त्रणको प्रयास गरिरहेका थिए। ‘सिलिण्डरमा वासर नै थिएन । वासर नभएपछि ग्यास लिक भएर आगलागी भएको हुनसक्छ,’ भट्टले भने।
त्यसपछि प्रहरीले ग्यास कम्पनीका सम्बन्धित व्यक्तिलाई घटनास्थलमा झिकाएको थियो। सम्बन्धित व्यक्तिले घटनास्थलमा आएर हेर्दा उक्त सिलिण्डरमा वासर थिएन। ‘प्रहरीले मुचुल्का गरेर गएको छ, अहिलेसम्म पनि ग्यास सिलिण्डर यहिँ छ। अबको प्रक्रिया के हुन्छ थाहा छैन्,’ पीडित सिंखडाले भनिन्।
ग्यास उद्योगले यस्ता सानो कुरामा राम्रोसँग ध्यान नदिँदा बेला–बेला यस्ता घटनाहरु भइरहेका छन्। बुधबारको घटना समेत ग्यास कम्पनीको आफ्नै त्रुटीको कारण भएको हो। आफ्नै कमजोरी भएपनि प्रयोगकर्ताहरुले समयमा ध्यान दिँदा ठूलो घटना टर्यो।
यद्यपी, तत्कालै सिलिण्डरको मुख छोपेर आगो नियन्त्रणमा नलिएको भए वरपरको घरमा समेत सल्किन्थ्यो। उक्त स्थानका घरहरु एकआपसमा जोडिएर बनेका छन्। ‘तत्काल आगो नियन्त्रणमा आएर एउटा ठूलो दुर्घटना टर्यो,’ स्थानीय गोविन्द पन्त बताउँछन्।
यस विषयमा नेपाल ग्यास उद्योगका प्रबन्ध निर्देशक बुद्धी श्रेष्ठले केही प्राविधिक त्रुटीको कारण आगलागी भएको पुष्टि गरे। ‘आगलागी हुनासाथ कम्पनीबाट हाम्रो मान्छे गएका थिए,’ उनले भने, ‘त्यसबारे बुझेर आएका छन्, क्षतिपुर्ति दिनेबारे १/२ दिनमा निर्णय होला।’
ग्यास कसरी लिक भयो भन्ने प्रश्नमा श्रेष्ठले अनुसन्धान भइरहेको बताए। ‘सिलिण्डरमा ग्यास भर्दा सबै टेक्निकल सिस्टमबाट चेकजाँच हुन्छ, लिक हुने ठाउँमा पनि टेस्ट हुन्थ्यो। तर, कसरी त्यस्तो भयो केही दिनमा प्रष्ट होला,’ उनले भने।
आगलागीबाट सिंखडाको कोठा पूर्ण रुपमा जलेर नष्ट भएको छ। कोठामा भएको समामहरु एउटा पनि काम लाग्ने अवस्थामा छैन। सिलिण्डरको इन्सुरेन्स गरेको हुनाले इन्सुरेन्समार्फत पीडितलाई क्षतिपुर्ति दिलाउने उनले विश्वास व्यक्त गरे।
त्यस्ता घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायका बारेमा आम उपभोक्तामा चेतनाको कमी होइन, ग्यास कम्पनीको सानो–सानो कमजोरीले ठूलो दुर्घटनाहरु हुने गरेको छ। प्रतिस्पर्धाको कारण पछिल्लो समय उत्पादन हुने सिलिण्डरहरु पहिलाको तुलनामा कमसल हुने गरेको छ।
पछिल्लो समय प्रयोगविधिमा कमजोरी र सचेतना तथा परीक्षण अभावले नेपाल ग्यासको सिलिन्डर दुर्घटना हुने गरेको छ। जानकारका अनुसार अधिकांश उद्योगले ग्यास सिलिन्डरको हाइड्रोलिक परीक्षण बेलैमा गर्दैनन्। त्यसकारण पनि दुर्घटना हुने गरेको छ।
भिडिओ
दुर्घटना पहिचान र सतर्कता
सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहिँ उपभोक्ताकै कारण ग्यास चुहावट हुन सक्ने जोखिम पनि रहन्छ। यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन्।
१. ग्यासको सिलिण्डर भएको ठाउँमा ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
२. ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनुहुँदैन।
३. ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ।
४. ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने।
५. ग्यासको अनावश्यक भण्डारण नगर्ने।

