रौतहटमा एक साताभित्र ४ यौनजन्य घटना, यादवमाथि बालयौन दुराचार मुद्दा


काठमाडौं – रौतहटमा पछिल्लो एक हप्ताभित्र ४ वटा यौनजन्य घटना भएको छ। १० वर्षीया बालिकालाई अनैतिक गर्न खोजेका फतुवा विजयपुर–२ सितलपुरका ५० वर्षीय अमर यादवमाथि प्रहरीले बालयौन दुराचार मुद्दा दर्ता गरेको छ।

चार दिनअघि यादवलाई इलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले पक्राउ गरेको थियो। तर उनीविरुद्ध मुद्दा दर्ता अथवा कानुनी कार्वाही अगाडि बढाउनुको सट्टा बिजयपुर प्रहरीले दैनिक पीडित बालिकाको अभिभावकलाई विभिन्न किसिमको मानसिक यातना दिएर मिलापत्र गर्न दवाब दिएको पाइएको छ।

पक्राउ परेका अमर यादवको छोरा फतुवा विजयपुरका– २ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षका बडिगार्ड भएकाले कांग्रेस पार्टीका केही नेताले मुद्दा दर्ता नगरी मिलापत्र गराउन बिवयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्मा उपर दवाब दिँदै आएको पीडित पक्षले गुनासो गरेका छन्।

प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकार र रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्वीबिक्रम साहको निर्देशनबाट आइतबार साँझ अमर यादवमाथि बालयौन दुराचार मुद्दा दर्ता भएको पीडित परिवारले बताएको छ।

त्यसैगरी फतुवा बिजयपुर–५ सन्तपुर दोस्तियास्थित घरभित्र सुतिरहेको अवस्थामा गाउँकै एकजना युवक घरभित्र प्रवेश गरि जबर्जस्ती करणी गर्ने खोजेको घटना सार्वजनिक भएको छ। पीडितको श्रीमान रोजगारीको लागि भारतको मुम्बईमा छन्।

स्थानीय सेख महबुब भन्ने सेख मक्सुदको छोरा २२ वर्षीय सेख मोमताजले जबर्जस्ती करणी गर्ने खोज्दा महिला कराएपछि मोमताज भागेको महिलाका ससुरा ताहिर अन्सारीले बताए।

घटनालगत्तै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै आरोपी मोमतजको घरमा जाँदा उनी नरहेको ससुरा ताहिरले बताए।

घटनाको भोलिपल्ट गत शुक्रबार इप्रका सन्तपुर दोस्तियामा मोमताजविरुद्ध लिखित उजुरी दिँदा प्रहरीले आरोपीको बुबालाई झिकाएको थियो। लगतै सोही वडाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शेख एजाजको जिम्मामा मोमताजलाई प्रहरीले छाडेको छ।

वडाध्यक्षले जमानीमा लिएर गएपछि हालसम्म कुनै कानुनी कार्वाही प्रक्रिया प्रहरीले अगाडि नबढाएको पीडितको भनाइ छ। वडाध्यक्ष एजाजको दवाबको कारण प्रहरी मौन बसेको पीडितकी ससुरा ताहिरको आरोप छ।

यता इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सुदर्शन दासले आरोपको खण्डन गर्दै आरोपी मोमताज फरार रहेनि उसको खोजी भैरहेको बताए।

त्यसअघि देवाही गोनाही नगरपालिकास्थित २ जना दलित महिला बलात्कृत भएका छन्। पक्राउ परेका एकजना अभियुक्त नागेश्वर प्रसाद कुश्वाहा नेपाली कांग्रेसका सदस्य हुन भने फरार भएका अर्का आरोपी पनि कांग्रेस निकटका रहेको बताइएको छ।

घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया