
बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
काठमाडौं – बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका २ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका २२ घर भई सोही महानगरपालिका १३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् ।
उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मिलनलाई टोखाबाट र बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितहरूलाई झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भई उच्च अदालतले उक्त फैसला गरेको थियो। उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले बताएको छ ।



कागजपत्र |
