

जापान पठाईदिन्छु भन्दै ४० लाख ठग्ने तीन युवतीसहित चार पक्राउ

काठमाडाैं – महानगरीय अपराध महाशाखाले जापान पठाइदिने भन्दै करिब ४० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
महाशाखाको विशेष टोलीले सामाजिक संजाल फेसवुकमार्फत साथी बनाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहागरपालिका वडा नं. १२ पदमपोखरी घर भई हाल का.जि.नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, जिल्ला ईलाम सुर्योदय वडा नं ४ श्रीअन्तु घर भई हाल काठमाडौं नयाँवानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई हाल काठमाडौं कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी बस्ने २१ वर्षीया दिपीका केसी रहेका छन् ।
उनीहरुले पिडितहरुसँग चिनजान गरी जापान जानका लागि भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारि बिभिन्न बैंक खातामा उक्त रकम डिपोजिट गर्न लगाई जापान नपठाई सम्पर्कविहिन भएकोले ठगी गरेको उजुरी पछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

