राजनीतिमा गुन्डागर्दीः तरुण दलका अध्यक्षले नै सचिवको टाउको फुटाए


रामेछाप– राजनीतिले अपराध जस्तो सजाय पाउँदैन भन्ने भनाई छ। तर नेपालमा राजनीतिक आवरणमा हुने अपराध कम भएको छैन।

अपराधका केही तथ्याङ्कलाई केलाउने हो भने राजनीतिक दलका भ्रातृ संगठनमा आबद्ध केही सदस्यहरु राजनीतिक खोल ओडेर गुण्डागर्दीमा सक्रिय भएको भेटिएको छ।

नेपाली कांग्रेसको तरुण दल, तत्कालिन एमाओवादीको वाईसीएल र नेकपाको युथ फोर्समा आबद्ध रहेका केही सदस्यहरुको कारण पार्टी नै बिबादमा पर्दै आएको छ ।

गत साता रामेछाप जिल्लाको तरुण दलका अध्यक्ष समेत रहेका दिनेश खड्का भन्ने काजीबहादुर खड्काको आपराधिक समूहको आक्रमणबाट देवराज खड्का घाईते भएका छन् ।

गोकुलगंगा गाउँपालिका–५ नामाडीका सडक उपभोक्ता समितिका सचिव देवराजमाथि  दिनेशको आपराधीक जत्थाले सांघातिक आक्रमण गरेका हुन् । पीडितका अनुसार दिनेशसहित २० जनाभन्दा बढीको समूहले  देबराज माथि योजनाबद्ध तरिकाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको वडाध्यक्ष बलराम खड्काले जनाएका छन् ।

बागमती प्रदेश सरकारको बजेटबाट बासे जोड्ने सडक निर्माण कार्यको उपभोक्ता समितिका अध्यक्ष रहेका देवराजलाइ दिनेशले आफ्नो डोजर प्रयोग गर्न दबाब दिदै आएका थिए ।

उनको डोजर उक्त सडक निर्माणमा प्रयोग नगरेपछि सोही रिसिएवी साँधी देबराजमाथि आक्रमण भएको हो । पूर्व रिसीइबी साँधी, योजनाबद्ध तरिकाबाट ज्यान मार्ने उदेश्य राखी देबराजमाथि आक्रमण भएको आधारमा दिनेशसहित चार जनाबिरुद्ध ज्यानमार्ने उद्योग अन्र्तगतको कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी समेत जारी गरी उक्त समूहको खोजी भईरहेको रामेछाप प्रहरीले जनाएको छ ।

नामाडी बजारमा गएको समयमा एक्लै पारी देवराजमाथि सांघातिक आक्रमण गरेको देख्ने सुन्नेले प्रहरीलाई बताएका छन् । तरुण दलका अध्यक्ष दिनेशको नेतृत्वको टोलीले देवराजमाथि योजनाबद्ध रुपमा रड, ढुंगा, ईटा, चिर्पटले प्रहार गर्दा टाउकोमा गम्भीर चोट पुगेको छ ।

आफ्नो डोजर किन प्रयोग नगरेको भन्दै दिनेश खड्का, उनका दाजु दीपक खड्का, भतिज भुवनजी खड्का र सुमन खड्कालगायतले देवराजमाथि आक्रमण गरेको नेकपा गोकुलगंगा गाउँ कमिटीले जनाएको छ ।

दिनेश खड्का पराजीत वडाध्यक्ष पनि हुन् । उनले नामाडीका आफ्नै भाइभतिजामाथि चुनावमा पनि पटक–पटक आक्रमण गर्दै आएको नेकपा गोकुलगंगाका नेताहरुको भनाइ छ । जिल्लामा यस अघिपनि सचिबमाथि कुटपिट गरेको अभियोगमा सार्बजनिक आपराधमा मुद्दा चलेको थियो भने दर्जन पटक दिनेशको गुण्डागर्दीलाई छलफलमा मिलाईएको थियो । उनी काठमाडौंमा पनि गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । देवराजको उपचार जिल्ला सदरमुकाम मन्थलीमा हुँदै छ ।

प्रतिक्रिया