ज्वाला संग्रौलाविरुद्धको अभियोगपत्र जिल्ला अदालतमा


काठमाडौं – आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलासहित तीन जना विरुद्धको अभियोगपत्र आइतबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ।

जिल्ला अदालत काठमाडौंका प्रमुख गंगा पौडेलका अनुसार आज प्रहरी कार्यालयमा रंगभेदी बोली बोल्ने संग्रौलासहित तीनजना विरुद्धको अभियोगपत्र दर्ता भएको छ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेलाई हातपात गरेको अभियोगमा गत ६ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौला, उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरेको थियो।

उनीहरुले गत १४ जेठमा घिमिरेमाथि महानगरीय प्रहरी वृत्त गौशालामा हातपात गरेका थिए। घिमिरेमाथि हातपात गरेको कारण उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा संग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको भेटिएको थियो।

त्यतिमात्र होइन, त्यसको चार दिनपछि अर्थात १८ जेठमा संग्रौलाले महानगरीय प्रहरी ट्राफिक प्रभाग, महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातीय विभेद गरेकी थिइन्।

उनीहरुविरुद्धमाथि सरकारी वकिल कार्यालयले लिखत सम्बन्धी कसुर, अभद्र व्यवहार र जातीय विभेद विरुद्धको कसुरमा कारवाही हुन मागदावी लिएको छ।

प्रतिक्रिया